२६ बैशाख २०८१, बुधबार

सूचनाको अटेरी गर्नेहरुका संरचना धमाधम भत्काइदै, एकाएक किन ताते बालेन ?

300606255 444040174433917 3560199889128251229 n

अनधिकृतरुपमा बनाइएका भवनका संरचना हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नै मैदानमा उत्रिएका छन् ।

प्रमुख शाहले नक्सापास विपरित बनेका संरचना भत्काउन निर्देशन मात्र दिएका छैनन्, अटेर गर्नेहरुका संरचना डोजर लगाइदिएका छन् । महानगरले यसअघि दिएको सूचनाको अटेरी गर्नेहरुका संरचना भत्काइ दिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बिहीबार बानेश्वर र शंखमूल क्षेत्रमा अनुगमनमा निस्किए । उनले शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बर्गर हाउस स‍ञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिए ।

त्यसलगत्तै वानेश्वरस्थित अल्फा हाउस पुगे । अल्फा हाउसका निर्देशक दधिराज शर्मासँग शाहको भनाभन नै भयो । शर्माले अल्फा हाउसको तल्लो तला व्यवसायकै लागि भएको दाबी गर्दा प्रमुख शाहले भवनको नक्सा माग गरेपछि विवाद भएको हो ।

विवाद सेलाउन नपाउँदै प्रमुख शाह दिउँसो डोजर र भवनको नक्सा लिएर अल्फा हाउस पुगे। उनले नक्सा देखाए र बेसमेन्टमा रहेको अल्फा केयर फार्मेसी माथी डोजर चलाउन निर्देशन दिए ।

महानगर प्रमुख शाहले बिहीबार नै बत्तीस पुतलीस्थित एउटा व्यवसायिक भवनको बेसमेन्ट पनि खाली गर्न निर्देशन दिए । यही भवनमा रहेको मुक्तिनाथ बैंक र बर्गर हाउसलाई जतिसक्दो छिटो खाली गर्न उनले भने ।

बढ्दो शहरीकरणसँगै काठमाडौं निकै अस्तव्यस्त भएको छ । महानगरपालिकाले बनाएका नियम उल्लंघन गर्ने क्रम बढेको छ । भवन निर्माण गर्दा नक्सा पास गर्ने क्रममा बेसमेन्ट अन्डरग्राउन्ड पार्किङको बेहोरा राखिए पनि कानुनविपरित त्यसलाई व्यवसायिक प्रयोगमा ल्याइएको छ ।

भवनको नक्सा पास गर्दा अन्डरग्राउन्ड पार्किङ राख्ने र सरकारले दिएको सुविधा उपभोग गर्ने तर बेसमेन्ट पार्किङमा नै सटर बनाएर भाडामा लगाउने प्रवृत्ति बढेको छ।  यही कारण काठमाडौंमा पार्किङको समस्या बढ्दो छ।

यो अवस्थामा महानगरपालिकाले चालेको कदमले केही व्यापारीलाई समस्या भए पनि समग्र महानगरको सुन्दरता बढाउन भने सहयोग पुगेको देखिन्छ ।

एकाएक किन ताते बालेन ?

पछिल्लो २४ घण्टा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह चर्चामा रहे । बलिउड फिल्म नायकका अभिनेता अनिल कपुरसँग सर्वसाधारणले शाहको तुलना गरिरहेका छन् । 

गत बैशाखमा सम्मपन्न स्थानीय तह निर्वाचनमा पूराना भनिएका राजनीतिक दलहरु कांग्रेस, एमाले लगायतका दलका उम्मेदवारलाई भारी मत अन्तरले पराजित गर्दै बालेन मेयरमा निर्वाचित भएका थिए । 

कांग्रेस एमाले लगायतका दलहरुले जनताको अपेक्षा बमोजिम महानगरमा काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहँदा शाहले नगरबासीको मन जितेका थिए । 

तर, निर्वाचित भएको चार महिना भइसक्दा मेयर शाहबाट उल्लेख्य कार्यसम्पादन नभएको भन्दै आलोचना भइरहेको थियो । 

केही दिन अघिसम्म काठमाडौंका चोक र सडकमा फोहरको डंगुर थुप्रिएको थियो जसको व्यवस्थापन गर्न नसकेको भन्दै मेयर शाहको चर्को आलोचना भइरहेको थियो । 

काठमाडौं, धरान र धनगढीसहितका कतिपय मुख्य सहरहरुमा स्वतन्त्र उम्मेदवारहरुले चुनाव जितेको र आगामी निर्वाचनमा पनि स्वतन्त्रहरुको पल्ला भारी हुने चर्चा जारी रहँदा काठमाडौंका मेयर शाहको कार्यसम्पादन कमजोर देखिएको थियो । 
यसअघि काठमाडौंमा यति लामो समय फोहरको समस्या भोग्नु नपरेको भन्दै भन्दै नगरबासीले शाहको आलोचना गरिरहेका थिए । 

धरानबासीलाई पानी खुवाउने नारा दिएर धरान उपमहानगरमा निर्वाचित हर्क साम्पाङ भने निर्वाचन अ३ि भन्दा अहिले चर्चाको शिखरमा रहेका थिए । श्रमदान गरेर चर्चामा रहेका उनले शाहमाथि सामाजिक सञ्जालबाट बेलाबेला शब्दबाण प्रहार गरिरहेका थिए । 
तर, पछिल्लो २४ घण्टामा काठमाडौंका मेयर शाह यस्तो रुपमा देखा परे जसले गर्दा उनको यसअघि कमजोर जस्तो देखिएको कार्यसम्पादन बलियो देखिएको छ । 

सामाजिक सञ्जालमा उनी अहिले हटकेक बनेका छन् । चुनाव अघि जस्तै अहिले चोक, चियापसल, सामाजिक सञ्जालमा उनकै चर्चा छ । 

शाहले बलिउड फिल्म नायकको शैलीमा भटाभट काम गरेको भन्दै यस्तै कामको अपेक्षा नगरबासीले गरेको र त्यसलाई शाहले पूरा गर्ने संकेत गरेको भन्दै प्रशंसा भइरहेको छ । 

सरकारी पारामा हुने गरेको कामकाबीच मेयर शाह एकाएक नायक शैलीमा छाएका हुन् । 
काठमाडौमा पार्किङको समस्या छ । तर व्यापारीक प्रयोजनका लागि बनेका भनवहरुले भने पार्किङका लागि अनुमति पाएका स्थानमा व्यवसाय सञ्चालनका लागि भाडामा लगाइरहेका थिए । जसलाई शाहले तोडेका छन् । ३५ दिन अघि सूचना जारी गरेका उनले ३६ औं दिनदेखि डोजर लिएर मैदानमा उत्रिए । कानुन विपरित भएका संरचनामा उनले डोजर चलाएका छन् जसको यतिबेला वाहवाही भइरहेको छ । 

बालेनमा जसरी भए पनि काम गर्नु पर्ने चुनौती थियो किनकी उनीमाथि नगरबासीले विकासको अपेक्षा गर्दै मत खन्याएका थिए । उनले आफूलाई कमजोर नदेखाउनका लागि पनि केही गरेर देखाउनु पर्ने चुनौती थियो जसलाई उनले डोजरको सहायतले केही गरेर देखाउने हुटहुटी रहेको देखाउन खोजेका छन् ।