७ बैशाख २०८१, शुक्रबार

कृषि ज्ञान केन्द्र लमजुङले बाँझो जमिनमा व्यावसायिक खेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने

Bajho Jamin 1

कृषि ज्ञान केन्द्र लमजुङले चालु आर्थिक वर्षमा बाँझो जमिनमा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

जिल्लामा खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेसँगै व्यावसायिक खेती प्रवर्द्धन गर्नका लागि सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि ज्ञान केन्द्रमार्फत सो कार्यक्रम सञ्चालन गर्ने भएको हो । कार्यक्रम अन्तर्गत जिल्लाका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी एवं कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनु भयो ।

सो कार्यक्रम लागत साझेदारीमा सञ्चालन हुने सूचना अधिकारी रेग्मीको भनाइ छ । रेग्मीका अनुसार कार्यक्रम कार्यान्वयनका लागि सरकारले न्यूनतम प्रतिरोपनी पाँच हजार रुपैयाँ उपलब्ध गराउने छ ।

कार्यालयले कार्यक्रम सञ्चालनका लागि सम्बन्धित सरोकारवालाबाट प्रस्ताव आवेदनसमेत माग गरिसकेको छ । कार्यालयका अनुसार सो कार्यक्रम सञ्चालनका लागि कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समूह वा कृषि क्षेत्रमा काम गर्ने सहकारी संस्थाले प्रस्ताव आवेदन दिन सक्नेछन् ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा कूल १० हेक्टर क्षेत्रफलमा सो कार्यक्रम कार्यान्वयन हुने छ । कार्यक्रम कार्यान्वयनका लागि विविध कारणले तीन वर्ष अघिदेखि जमिन बाँझो रहेको हुनुपर्ने, न्यूनतम तीन रोपनी क्षेत्रफल भएको जग्गा हुनुपर्ने मापदण्ड रहेको छ ।

केन्द्रको तथ्यांकअनुसार जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये १६ हजार हेक्टर भन्दा बढी जमिन बाँझो छ । जिल्लामा कूल खेतीयोग्य जमिन ६१ हजार आठ सय १९ हेक्टर जमिनमध्ये १६ हजार सात सय ६९ हेक्टर जमिन बाँझो रहेको कार्यालय प्रमुख सुदिप खतिवडाले बताए । 

जिल्लामा कूल खेतीयोग्य जमिनमध्ये ४५ हजार ५० हेक्टर जमिनमा विभिन्न प्रकारका खेती हुँदै आएको छ । केही वर्ष अघिसम्म १५ हजार हेक्टर जमिनमा खेत रोपाइँ हुने गरे पनि पछिल्ला वर्षहरूमा जमिन बाँझो रहने क्रम बढ्दो अवस्थामा छ । यस वर्षमात्रै जिल्लामा १२ हजार एक सय २५ हेक्टर खेतमा वर्षे धान रोपाइँ भएको कार्यालयले जनाएको छ ।