१३ बैशाख २०८१, बिहीबार

विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने तयारी

20200519105343 26147

कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ ।

कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न थालेको हो ।

विदेशमा अलपत्र परेका नेपाली र क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार समितिको सिंहदरबारमा बसेको बैठकले गृहकार्य थालेको जनाएको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिका सचिवसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा गृहकार्य थालेको बताए ।

समितिको बैठकमा सातवटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरूलगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।

उनले विदेशबाट नेपालीलाई फिर्ता ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फैलिन नदिने गरी क्रमशः ल्याउने ढंगको योजना बनाउने सोच रहेको जानकारी दिए ।

समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेन्टाइनहरूलाई तोकिएको मापदण्डअनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव बिडारीले जानकारी दिए ।

क्वारेन्टाइनमा रहनेहरूको सुरक्षाको व्यवस्था, तथ्यांक राख्नेलगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरूको अगुवाइमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।

यस्तै, क्वारेन्टाइनमा बस्नेहरूको बन्दोबस्तीको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित स्थानीय तहले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना आउने उनको भनाइ छ ।

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन विषयमा सर्वोच्च अदालतले पनि आदेश दिएको छ। त्यस्तै, संसदीय समितिहरुले पनि विदेशमा रहेका नेपालीलाई फर्काउन निर्देशन दिएका छन्।

भारतमा रहेका नेपाली आफै स्वदेश फर्किँदै छन्। भारतबाहेका देशबाट जहाज चार्टर गरेर ल्याउनु पर्नेछ। त्यसका लागि परराष्ट्र मन्त्रालयले पनि छलफल गरिरहेको जनाएको छ।