८ बैशाख २०८१, शनिबार

नवप्रवेशीलाई विशेष जिम्मेवारी दिन एमालेको सर्कुलर, वाम गठबन्धन नहुने निष्कर्ष

UML Stayi Commeti MK

नेकपा एमालेले वाम गठबन्धनको सम्भावना नरहेकाले एकढिक्का भएर निर्वाचनमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले आफूलाई वामपन्थी ठान्नेहरू पनि कांग्रेस छाडेर फर्किने अवस्था नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष निकालेको हो ।

बैठकमा नेताहरुले स्थानीय निर्वाचनमा देखिएका कमजोरी दोहोरिन नदिनेगरी अध्यक्ष केपी ओलीको स्वरमा सबैको एक स्वर हुनुपर्ने धारणा राखेका छन ।

गण्डकी बाहेक ६ वटा प्रदेशका इन्चार्जले त्यहाँको शक्ति सन्तुलनको अवस्थाबारे रिपोर्टिङ गरेको उपमहासचिव प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको मापदण्ड प्रस्ताव गरेको छ । प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटीले पारित गर्ने गुरुङले बताउनुभयो ।

एमालेले विभिन्न पार्टी र समूहबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि विशेष निर्णय गरेको छ । त्यसको कार्यविधि नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरुको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।

नवप्रवेशीलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा मनोयन गर्न र समस्या भएमा माथिल्लो कमिटीसँग समन्वय गर्न भनिएको छ ।

बैठकले पछिल्लो समय विभिन्न दलबाट प्रवेश गरेका केन्द्रीयस्तरका नेताहरुलाई सल्लाहकार र केन्द्रीय कमिटीमा गरेको मनोनयन अनुमोदन गरेको छ ।