१६ चैत्र २०८०, शुक्रबार

देउताकै डरले महिला र किशोरीलाई गाउँ नै छाडेर जानुपर्ने बाध्यता

baitadi

बैतडीमा महिला र किशोरी देउताको डरले गाउँघर नै छाडेर जाने गरेका छन् ।

बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ ।

बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका छन् ।

विशालपुर क्षेत्रका पाँचवटा गाउँको तलतिर गङ्गेश्वर देउताको मन्दिर भएका कारण छाउ भएका महिला देउता रिसाउने डरले घर छाडेर छिमेकी गाउँको गोठमा बस्ने कुप्रथा रहेको मेलौली नगरपालिका–८, का वडाध्यक्ष तपेन्द्र विष्टले जानकारी दिनुभयो ।

छाउ भएका बेला छिमेकी गाउँको गोठमा चार दिनसम्म बस्नु पर्दा यौन दुव्र्यवहार, सर्पदंश र चितुवाको डर हुने गरेको उहाँले बताउनुभयो । यौन दुव्र्यवहारका त एक÷दुईवटा घटना नै भएको वडाध्यक्ष विष्टले जानकारी दिनुभयो । गाउँमा बिजुली बत्ती नहुँदा अँध्यारो गोठमा रात काट्नु पर्दा महिला र किशोरीहरू असुरक्षित रहेको पाइएको छ ।

विडम्बना त के छ भने महिनावारी भएका महिला र किशोरी घरबाहिरको काम गर्न भने दिनभरि गाउँमा आउन पाउँछन् । घाँस काट्न, दाउरा बोक्नेजस्ता कठिन काम गर्न भनेँ महिलालाई दिनभरि गाउँघर आउन छुट हुन्छ ।

तर रात परेपछि घर छाडेर छिमेकी गाउँको गोठमा बास बस्न जानुपर्ने बाध्यता रहेको स्थानीय किशोरी समूहकी संयोजक पुष्पा विष्टले बताउनुभयो । छाउपडी प्रथाविरुद्ध गाउँमा किशोरी समूह सक्रिय भए पनि कुप्रथा हट्न नसकेको किशोरी पुष्पाको भनाइछ । देउताको डरले महिनावारी भएका महिला आफैँ छाउपडी प्रथामा जकडिएकाले समस्याको सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

महिनावारी मात्रै होइन, सुत्केरी भएका बेला ११ दिनसम्म अर्को गाउँको अँध्यारो गोठमा रात काट्नुपर्छ । छाउपडी प्रथा उन्मूलन गर्न कानुन बने पनि फितलो कार्यान्वयनले सुदूरपश्चिमको बैतडीलगायतका जिल्लाबाट छाउपडी प्रथा हट्न नसकेको उहाँले बताउनुभयो । दुर्गम ग्रामीण क्षेत्र छाउपडी प्रथाविरुद्ध किशोरीहरूले अभियान सञ्चालन गरे पनि महिलाबाटै सहयोग नमिलेको किशोरीहरूको गुनासो छ ।

गाउँमा देउताकै डरले पुरुषहरूले पनि घरको माथिल्लो तलामा खाट लगाएर सुत्न नपाउने चलन छ । घर बनाउँदा पनि दुई तलाभन्दा बढी बनाउने र मन्दिरतर्फ दृष्टि पर्ने गरी ढोका राख्न नपाइने प्रचलन रहेको वडाध्यक्ष तपेन्द्र विष्टले बताउनुभयो ।