७ बैशाख २०८१, शुक्रबार

रिमोटबाट चल्ने पार्टी होइन राप्रपा नेपाल : अध्यक्ष थापा

kamal thapa

राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलो पटक आज झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट सञ्चालन हुने पार्टी नभएको बताए ।

‘कुनै अँध्यारो कुना र शक्तिको रिमोट बाट राप्रपा नेपाल सञ्चालित हुँदैन,’ थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गर्दै थापाले उच्च मनोबलका साथ संगठन निर्माणमा क्रियाशील हुन कार्यकर्तालाई आग्रह गरे ।

नेपाली जनताले विकल्पको खोजी गरिरहेको भन्दै उनले राप्रपा नेपाललाई नेपाली जनताले खोजेको वैकल्पिक शक्ति बनाउने अभियानमा आफू लागिरहेको बताए ।

राष्ट्रियताको संवर्द्धन ,प्रजातन्त्रको सुदृढीकरण, धर्म संस्कृतिको रक्षा र आर्थिक समृद्धिको एजेन्डा बोकेको पार्टी राप्रपा नेपाल भएकोले यसलाई बलियो बनाउन नेपाली जनताले साथ दिनुपर्नेमा उनको जोड थियो ।

बेरोजगारी, भ्रष्टाचार, कुशासन, धर्म परिवर्तन अहिले देशको मुख्य समस्या र चुनौती भएको चर्चा गर्दै थापाले ठूला भनिने दलहरूसँग दूरदर्शिता र इमानदारिता नभएको बताए ।

आगामी चुनावमा केही सिटमा तालमेल हुने र देशैभरी राप्रपा नेपालले आफ्नो उम्मेदवारी खडा गर्ने समेत थापाले स्पष्ट पारे । चुनावी तालमेल नेकपा एमाले सङ्ग हुने सम्भावना बढी भएको समेत उनले बताए ।

राप्रपा नेपाल झापा अध्यक्ष कमल खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेताहरू लाक्पा तामाङ, सुशील श्रेष्ठ, राजाराम बर्तौला, बसन्तमानसिंह अधिकारी, वासुदेव भट्टराई, ममता राई, देबिरमण भट्टराईलगायतले बोलेका थिए ।