७ बैशाख २०८१, शुक्रबार

नीमाको सहयोगमा शिवपुरी माविमा ‘डिजिटल रूपान्तरण यात्रा’ सुरु

IMG 68761660891662


काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रबाट डिजिटल रुपान्तरणको यात्रा सुरु भएको छ । स्टिम सिकाइ र ई- लर्निङ संस्था नीमाको सहयोगमा सोमबार डिजिटल रूपान्तरण यात्राको घोषणा गरिएको छ ।

घोषणासभामा राजधानीका ४० भन्दा धेरै विद्यालयका प्रधान्याध्यापक र स्टिमका फोकल शिक्षकहरूको उपस्थिति थियो । नीमा एकेडेमीको एक हप्ते रोबोटिक्स शिक्षा क्याम्पमा सिकेर विद्यार्थीहरुले तयार गरेका विभिन्न भौतिक प्रोजेक्टहरु पनि यस कार्यक्रममा प्रदर्शनीमा राखिएका थिए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा–३ का अध्यक्ष प्रेम थापाले नीमाको सहयोगमा आफ्नो पहलले सार्थकता पाएको बताए । ‘‘सामुदायिक विद्यालयहरुको नमुना विद्यालय तथा स्टिम स्कुलको हब रहेको यस शिवपुरी स्कुलमा डिजिटल सिकाइ र पढाइ थाल्न पहिल्यैदेखि पहल गरेको थिएँ । अन्तत: नीमा एकेडेमीको प्राविधिक सहयोगमा सफल भएको छु, ’’ उनले भने, ‘‘यो मेरै निर्वाचन क्षेत्रको विद्यालय हो । त्यसैले हरेक आवश्यकता पूरा गर्न सक्दो पहल गर्नु मेरो जिम्मेवारी हो ।’’
नीमा एकेडेमीकी प्रमुख परिचालन अधिकारी नेहा जोशीले अबको सिकाइ नै डिजिटल लर्निङ रहेको बताइन् ।

उनले ई–लर्निङको महत्व र नीमा एकेडेमीबाट कसरी घरमै बसेर ई–लर्निङ गर्न सकिन्छ भन्ने विषय पनि प्रकाश पारिन् । विद्यालयका प्रधानाध्यापक दिवाकर दुरदर्शीले अबको शिक्षा व्यावहारिक र डिजिटल हुनुपर्ने बताए । ‘‘अब सामुदायिक विद्यालयहरु ई–लर्निङ अपनाउने र स्टिम कोर्सहरु सिघ्र लागू गर्ने दिशामा अघि बढ्नुपर्छ, ’’ दुरदर्शीले भने, ‘‘विद्यार्थीहरु चकचके, छुकछुके हुन्छन् । उनीहरुले सिक्ने र बिगार्ने काम गर्छन् । यो जुरमुराउँदो उमेरमा स्टिम कोर्स, बुट क्याम्प, वर्कशप, रोबोटिक्स आदीको महत्व ठूलो भएकाले अबको सिकाइ सिकाइउन्मुख, व्यावहारिक र डिजिटल हुनुपर्छ ।’’

कार्यक्रममा स्टिम सिकाइका फोकल शिक्षक–शिक्षिकाले आफ्नो अनुभव र त्यसको प्रभावकारीताबारे बोलेका थिए । काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी, महानगरका शिक्षा अधिकृत तारापति खरेल, मोति भट्टराई, लक्ष्मी पौडेललगायत शैक्षिक क्षेत्रमा संलग्न विभिन्न व्यक्तित्वहरु कार्यक्रममा उपस्थित थिए ।

सन् २०१८ देखि नीमा एजुकेशन फाउन्डेशन (एनईएफ) ले नीमा एकेडेमी सञ्चालनमा ल्याएको हो । यस एकेडेमीले रचनात्मक र उच्चस्तरको सिकाइ प्रविधिमार्फत नेपालको शैक्षिक गुणस्तर उकास्ने लक्ष्य राखेको छ । ३ दशकभन्दा लामो अनुभव भएका शिक्षाविद् र शिक्षकहरुले यस कार्यमा योगदान गरिरहेका छन् ।

नीमा एकेडेमीले विद्यार्थीहरुका लागि गेमिफाइड सामाग्री, अन्तक्रियात्मक हाजिरीजवाफ, टुडी तथा थ्रीडी भिडियो र एनिमेशन, लाइभ कक्षाहरु र अन्य विभिन्न सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

    सम्बन्धित समाचार...