१३ बैशाख २०८१, बिहीबार

म्याद थपको लागि मन्त्रीलाई गुहार्दै नर्भिक अस्पताल

norvic hospital

झण्डै डेढ रोपनी सरकारी जग्गा कौडीको मूल्यमा २० वर्षका लागि हत्याएको नर्भिक अस्पतालले थप २५ वर्षका लागि म्याद थपका लागि मन्त्रीलाई गुहारिरहेको तथ्य खुलेको छ ।

हिमालय टेलिभिजनलाई प्राप्त विवरणमा भूमि सुधार तथा व्यवस्था मन्त्री समक्ष विगत १४ वर्षदेखि उपयोग गरिरहेको सरकारी जग्गा विक्रम सम्वत २ हजार ११० साल जेठ १ गतेसम्मका लागि जग्गा बहालको म्याद थपका लागि अनुरोध गरेको खुलासा भएको हो ।

नर्भिक अस्पतालले काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ स्थित थापाथलीमा रहेको २ हजार ८५ कित्ता नम्बरको सरकारी जग्गा २०६५ साल देखि न्यून भाडादरमा भोगचलन गर्दै आएको छ ।

तत्कालीन सम्झौता अनुसार अस्पतालले भाडामा लिएको १ रोपनी ८ आना १ पैसा १ दाम जग्गाको वार्षिक भाडा जम्मा ३७ हजार ९ सय ८९ रुपैयाँ कायम गरिएको थियो । प्रत्येक दुईदुई वर्षमा भाडाको दर नवीकरण हुने सम्झौता अनुसार न्यूनदरमा भाडा बढाएको देखाइएको छ । अस्पतालले सम्झौता सकिने मिति २०८५ साल जेठ १ गते सम्मको भाडा पनि बुझाइसकेको छ ।

अस्पतालले अन्तिमपटक २०७५ साल जेठ ७ गते एकमुष्ठ ७ लाख ३९ हजार ६ सय १७ रुपैयाँ भाडा बुझाएको थियो । यो रकम २०७५ साल जेठ २१ गते देखि सम्झौताको म्याद सकिने मिती २०८५ साल बैशाख ३१ गते सम्मको भाडा हो ।

हिमालय टेलिभिजनलाई प्राप्त विवरण अनुसार सम्झौता भएको सुरुको दुई वर्ष वार्षिक भाडा ३७ हजार ९ सय ८९ रुपैयाँको दरले तिरेको पाइएको छ । त्यसपछि प्रत्येक दुई(दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि गरेर तिरेको छ ।

नर्भिकले बुझाएको भाडाको विवरण
वि.सं. २०६६–४–२३ गते ३७,९८९ रुपैयाँ
वि.सं. २०६७–१–६ मा १,१३,९६७ रुपैयाँ
वि.सं( २०६९–३–२७ मा ३,११,९०० रुपैयाँ
वि.सं. २०७५–२–६ मा ७,३९,६१७ रुपैयाँ

अस्पतालले बुझाएको २० वर्षको जम्मा भाडा १२ लाख ३ हजार ४ सय ७३ रुपैयाँ मात्रै हो । यो भनेको समग्रमा मासिक भाडा जम्मा ५ हजार १४ रुपैयाँ ४७ पैसा मात्रै हो ।

आजको मितिमा यो दरमा काठमाडौंमा महिनामा डेढ रोपनी जग्गा त के एउटा कोठा पनि पाउन मुश्किल पर्छ । यसबाट के पुष्टि हुन्छ भने केही व्यक्तिलाई प्रभावमा लिएर नर्भिकले सरकारी जग्गा सस्तो भाडादरमा हत्याएको थियो ।

अर्कोतर्फ नर्भिकले २० वर्ष कौडीको भाउमा सरकारी जग्गा उपयोग गरेर पनि उसको चित्त बुझेको छैन । त्यसैले अन्तिम पटक भाडा बुझाउनु २ वर्षअघि नै नर्भिकले थप २५ वर्षका लागि म्याद थपको प्रयास शुरु गरेको छ।

अस्पतालका तत्कालीन कार्यकारी निर्देशक र अहिलेका अध्यक्ष रोजन्द्रबहादुर सिंहले २ हजार ७२ साल बैशाख २१ गते तत्कालीन भूमिसुधार मन्त्रीलाई पत्र लेख्दै २५ वर्ष म्याद थप गरिदिन आग्रह गरेको तथ्य प्राप्त भएको हो । अस्पतालले आग्रह गरेपनि अहिलेसम्म म्याद थप भएको विषयमा एकिन हुन सकेको छैन ।