१५ बैशाख २०८१, शनिबार

शेयर बजारमा लगानीको अवसर, ३० कम्पनीको आइपीओ आउँदै

ipo

पछिल्लो समय प्राथमिक शेयर आइपीओमा लगानीकर्ताको आकर्षण निकै बढेको छ। प्रायः कम्पनीहरुको आइपीओमा माग भन्दा धेरै गुण बढी आवेदन पर्ने गरेको छ ।

आइपीओमा मात्रै लगानी गर्नेहरुका लागि पनि अब थप लगानी गर्ने अबसर मिल्दैछ । छिट्टै ३० कम्पनीले १ करोड ६३ लाख कित्ता शेयर जारी गर्दैछन् । हेरौ कुन कुन कम्पनीले कति कित्ता शेयर जारी गर्दैछन् ।

केही समयअघि अभियान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा मागभन्दा १७ गुणबढी आवेदन पर्‍यो । कम्पनीले ९ लाख १३ हजार ७५० कित्ता शेयर आवेदन माग गरेकोमा २० लाख ४३ हजार आवेदनकर्ताले १ करोड ६३ लाख ६६ हजार कित्ता शेयरका लागि आवेदन दिए । पछिल्लो समय निष्काशन हुने प्रत्येक आइपीओमा मागभन्दा निकै बढी आवेदन पार्न थालेको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार अब छिट्टै ३० वटा कम्पनीको आइपीओ आउँदैछ । विभिन्न क्षेत्रका ती कम्पनीहरुले ६ अर्ब ६४ करोड ६५ लाख रुपैयाँ बराबरको ६ करोड ४२ लाख ७८ हजार कित्ता आइपीओ निष्काशनका गर्दैछन् । निष्कासनका लागि आवेदन दिएकामध्ये जलविद्युत क्षेत्रका १६ वटा, उत्पादन तथा प्रशोधनका ३–३ वटा, बीमा र होटलका २(२ वटा र एउटा इन्भेष्टमेन्ट कम्पनीको छ ।

आवेदन दिएकामध्ये सबैभन्दा धेरै सानिमा मिडिल तमोरले ८३ लाख ३१ हजार २५० कित्ता दोस्रोमा घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर जारी गर्नेछन् । यस्तै आइएमई लाइफ र रिलायबल लाइफ इन्स्योरेन्सलले ६०–६० लाख कित्ता, हाथवेय इन्भेष्टमेन्टले २९ लाख ५५ हजार, मायादेवि जलविद्युतले ३४ लाख कित्ता शेयर जारी गर्ने छन् ।

सिटी होटलले १६ लाख ६४ हजार, सुपरमादी हाइड्रोपावरले ३१ लाख ५० हजार, डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार, कालिञ्चोक दर्शनले १२ लाख, सृजनशील लघुवित्तले ३ लाख ९३ हजार र सबैभन्दा कम विपीडब्लु लघुवित्तले ९७ हजार कित्ता शेयर निष्काशनका लागि आवेदन दिएको छ । ट्रेड टावरले पनि ११ लाख ५८ हजार कित्ता शेयर जारी गर्नका लागि आवेदन दिएको छ ।

सय रुपैयाँ मूल्यमा किनेको शेयर परेमा राम्रै प्रतिफलमा बेच्न पाइने भएका कारण आवेदन बढी पर्ने गरेको देखिन्छ । यसले शेयर बजारलाई थप विस्तार गर्न मद्दत पुगेकाले उनीहरुलाई बजारमा टिकाइ राख्न पूँजी बजारबारे थप साक्षर बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले १ अर्ब वा सोभन्दा बढी चुक्तापूँजी भएका र वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने कम्पनी अनिवार्य रुपमा शेयर जारी गरि दोस्रो बजारमा सूचिकृत हुनुपर्ने व्यवस्था गरेको छ । यसले पनि अब धेरै कम्पनीमा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

    सम्बन्धित समाचार...