१४ बैशाख २०८१, शुक्रबार

अस्वाभाविक दाबी सत्ता गठबन्धनभित्र प्रतिनिधिसभाका १६५ सिटमा

gathabandhan

आगामी निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ सिट मध्ये सत्ता गठबन्धनका पाँच दलको दावी २ सय १५ सिट पुगेको छ ।

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले ९५, माओवादी केन्द्रले ५५, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीले ३०-३० र राष्ट्रिय जनमोर्चाले ५ सिटमा दावी अघि सारेका हुन् ।

सोमबार बस्ने कार्यदल बैठकमा पाँचै दलले आ-आफ्नो दावी औपचारिक रूपमै प्रस्ताव गर्ने तयारी छ। दलहरुको सिट संख्या दावी र उनीहरुको चुनावी रणनीत कस्तो छ त ?

सत्ताको मुख्य घटक माओवादी केन्द्रले प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष तर्फका एक सय ६५ निर्वाचन क्षेत्र मध्ये ५५ मा दावी अघि सारेको छ ।

अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार सहकर्मी नेताहरूसँग २०७४ सालमा एमालेसँग ६०-४० को तालमेलमा चुनाव लड्दा निर्वाचनमा ६६ सिट लिएको स्मरण गराएका थिए ।

अहिले गठबन्धनमा अरु दल पनि भएकाले १० देखि १२ कम सिटमा दावी राखेर गठबन्धन कार्यदलमा पेश गर्ने माओवादीको तयारी छ ।

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले आधिकारिक निर्णय गरिसकेको छैन । तर कार्यदल बैठकमा ९५ सिट दावी लिएर जाँदैछ ।

४० भन्दा बढी सिट समानुपातिकबाट जित्ने र एकल बहुमतको नजिक पुग्ने रणनीतिसहित कांग्रेसले आफ्नो दावी कार्यदलमा लैजाँदै छ ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने ३०-३० निर्वाचन क्षेत्रमा दावी गरेका छन् । राष्ट्रिय जनमोर्चाको ५ सिट माग्दैछ । सबै दलको दावी जोड्दा प्रत्यक्षमा २ सय १५ सिट पुग्छ ।

१ सय ६५ सिटमा कुरा मिलाउन अब कुन दलले कति सिट छोड्ने त्यसैमा रस्साकस्सी हुने देखिन्छ । गठबन्धनका शीर्ष नेताहरुले आफ्नो क्षेत्र सुनिश्चित हुनेगरी केही सिट हेरफेर गर्ने सम्भावना भने रहन्छ नै ।