१३ बैशाख २०८१, बिहीबार

संक्रमण दर बढ्दा पनि स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ

Corona Dischargde

भैरहवाको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने दैनिक करिव ७ सयमध्ये २ देखि ३ सयको मात्रै कोभिड परीक्षण हुन्छ । तीमध्ये सरदर १५ जनामा संक्रमण पुष्टी हुन्छ ।

कैलालीको गौरीफन्टा नाकाबाट आउनेको अवस्था पनि उस्तै छ । दैनिक करिब १ सय ५० जनाको परीक्षण गर्दा २० जनासम्म संक्रमित देखिने गरेका छन् ।

छिमेकी मुलुक भारतमा दैनिक १६ हजार भन्दा बढीमा संक्रमण देखिने गरेको छ । खुला सिमानाका कारण आवतजावत भइरहँदा नेपालमा पनि त्यसको असर पर्छ । तर नाकामा सबैको परिक्षण हुँदैन । कति त लक्षण देखिएकैहरु पनि विना परीक्षण गन्तव्यतर्फ जाने गरेका छन् ।

नाकाबाट प्रवेश गर्नेहरुमा संक्रमण देखिए पनि सतर्कता अपनाउन भन्दै सहजै घर जान दिइन्छ । कोभिडका लक्षण देखिएका वा संक्रमण पुष्टी भएकाहरुलाई होल्डिङ सेन्टरमा राख्ने भनिए पनि सञ्चालन गरिएको छैन भने कतै निर्माण नै गरिएको छैन ।

एकातिर नाकामा फितलो परीक्षण र अर्कातिर स्वास्थ्य मापदण्ड पालनामा गरिएको हेलचेक्रयाइँका कारण जोखिम झनै बढेको छ । अवस्था यस्तै रहे संक्रमणको जोखिम प्रक्षेपण गरेभन्दा लामो समयसम्म जाने चेतावनी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

सीमा नाकामा मात्र होइन, अहिले सबैभन्दा बढी दैनिक संक्रमित काठमाडौंमै फेला पर्ने गरेका छन् । बिहीबार मात्रै उपत्यकामा ३ सय जनामा संक्रमण पुष्टी भएको छ ।

नाकामा कडाइ नगर्ने र राजधानीमा पनि मापदण्ड पालनामा हेलचेक्याइँ गरिरहने हो भने संक्रमण घट्नुको सट्टा सबैतिर फैलने जोखिम छ ।