१५ बैशाख २०८१, शनिबार

कानूनलाई बेवास्ता गरेर सरकार देशप्रति बेइमानी गर्न लागिपरेको भीम रावलको आरोप

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

नेकपा एमालेका नेता डा. भीम रावलले सरकार कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रावलले नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा संविधानविपरीत भएको बताउनुभएको हो । उहाँले अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व भएको पनि जिकिर गर्नुभयो ।

नेता रावलले नेपालले सीमानाका नियमन गर्न आवश्यक रहेको बताउनुभयो । कालापानीमा विदेशी फौज आएर बुल्डोजर चलाउँदा समेत सरकार मौन बसेको उहाँको आरोप छ । नेता रावलले परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणमा सीमा विवादबारे छलफल गरेर जनतालाई जानकारी गराउन माग गर्नुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताउभयो । उहाँले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डो प्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको आरोप लगाउनुभयो ।

यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले देशको सिमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताउनुभयो ।

नेता खतिवडाले सिमानामा काँडेतार लगाउनुभन्दा नेता र राजनीतिक दलहरुले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने टिप्पणी गर्नुभयो ।