११ आश्विन २०७९, मंगलवार

३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका

divorce

तनहुँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । आर्थिक वर्ष ०७८/७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो ।

उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ । अदालतले सो वर्ष छ सय ८६ सम्बन्धविच्छेदका मुद्दा फछ्र्योट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका दुई सय ५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९÷८० मा जिम्मेवारी सरिआएको छ ।

कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएपछि अदालतमा सम्बन्धविच्छदेका मुद्दा बढी आउने गरेको बताइएको छ । बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा .जस्ता कारणले सम्बन्धविच्छेदको मुद्दा बढेको बताइएको छ ।

यसैगरी लेनदेनतर्फ एक सय १९ मुद्दा रहेकामा ७३ मुद्दा फछ्र्योट भएको छ । अंशतर्फ चार सय आठ मुद्दा रहेकामा एक सय ५९ थान मुद्दा फछ्र्योट भएको छ । लिखत बदरतर्फ एक सय २० मुद्दा रहेकामा ३५ मुद्दा फछ्र्योट भएको छ ।

जबर्जस्ती करणीतर्फ ८० मुद्दा रहेकामा २५ मुद्दा फछ्र्योट भएको छ । कर्तव्य ज्यानतर्फ २२ मुद्दा रहेकामा आठ, सवारी ज्यानतर्फ ८१ मुद्दा रहेकामा ५१, ज्यान मार्ने उद्योगतर्फ २१ मुद्दा रहेकामा १०, चोरीतर्फ ३३ मुद्दा रहेकामा १४ मुद्दा फछ्र्योट भएको छ ।

डाँकाचोरीतर्फ दुई मुद्दा रहेकामा दुई, लागुऔषधतर्फ ६८ मुद्दा रहेकामा ३३, आत्महत्या दुरुत्साहनतर्फ आठ मुद्दा रहेकामा दुई, मानव बेचबिखनतर्फ एक मुद्दा रहेकामा एक, कुटपिटतर्फ एक मुद्दा रहेकामा एक, जालसाजीतर्फ एक सय २८ मुद्दा रहेकामा ४८, बहुविवाहतर्फ १५ मुद्दा रहेकामा छ, बालविवाहतर्फ चार मुद्दा रहेकामा तीन, बालयौन दुरुपयोगतर्फ सात मुद्दा रहेकामा पाँच, चेक अनादरतर्फ एक सय मुद्दा रहेकामा २४ र अन्यतर्फ तीन सय ४० मुद्दा रहेकामा एक सय ७८ थान मुद्दा फछ्र्योट भएको छ ।

अदालतले चार सय ७६ मुद्दा मेलमिलापका लागि पठाएकामा ३६ मुद्दा मात्रै मेलमिलापबाट समाधान भएको छ । अदालतमा सूचीकृत मेलमिलापकर्ता १४ जना छन् । अदालतले सो अवधिमा ५४.५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले उक्त अवधिमा लक्ष्यभन्दा कम मुद्दा फछ्र्योट गरेको हो । अघिल्लो वर्षको जिम्मेवारी सरिआएका नौ सय ५९ र नयाँ दर्ता एक हजार पाँच सय ४१ गरी कूल दुई हजार पाँच सय मुद्दामध्ये एक हजार तीन सय ६४ मुद्दा फछ्र्योट भएको अदालतका श्रेस्तेदार कुँवरले जानकारी दिनुभयो । त्यस अवधिमा न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले छ सय २४ थान र न्यायाधीश वासुदेव पौडेलले सात सय ४० थान मुद्दा फछ्र्योट गर्नुभएको छ ।

“गत वर्ष कोरोना कहरका कारण भएको निषेधाका कारण मुद्दा फछ्र्योटमा कमी देखिएको थियो, यस वर्ष पनि करिब डेढ महिनामा एक जना न्यायाधीश स्थानीय तह निर्वाचनमा खटिनुपर्दा मुद्दा फछ्र्याैटमा कमी आएको छ”, श्रेस्तेदार कुँवरले भन्नुभयो । अदालतले उक्त वर्षमा एक हजार दुई सय ३४ नयाँ मुद्दा दर्ता हुँदा वार्षिक लगत दुई हजार एक सय ९३ हुने र एक हजार पाँच सय ७६ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा बढी मुद्दा दर्ता भएका कारण फछ्र्योट सङ्ख्या कम भएको श्रेस्तेदार कुँवरले बताउनुभयो । अदालतमा अब एक हजार एक सय ३६ मुद्दा फछ्र्योट हुन बाँकी छ । फछ्र्योट हुन बाँकी मुद्दा चालु आर्थिक वर्ष ०७९÷८० मा जिम्मेवारी सरेर आउँछ ।

तनहुँमा छ मतदानस्थल थप
मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति तनहुँले जिल्लामा छ मतदानस्थल थप गर्नका लागि निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका चार स्थानीय तहमा ती मतदानस्थल थप गर्न आयोगसमक्ष सिफारिस गरिएको हो ।

स्थानीय तहको सिफारिसका आधारमा समितिले मतदान स्थल थप गर्नका लागि आयोग समक्ष सिफारिस गरेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । “स्थानीय तहले राजनीतिक दलको सहमतिका आधारमा मतदानस्थल थप गर्नका लागि सिफारिस समितिमा अनुरोध गरी पठाएबमोजिम मतदानस्थल थप्नका लागि आयोगसमक्ष सिफारिस गरी पठाएका हौँ”, उहाँले भन्नुभयो, “थपिएका मतदानस्थलमा रहने मतदाता पनि स्थानीय तहको सिफारिसबमोजिम स्थानान्तरण गरिनेछ ।”

उहाँका अनुसार बन्दीपुर गाउँपालिकामा एक, व्यास नगरपालिकामा दुई, शुक्लागण्डकी नगरपालिकामा दुई र आँबुखैरेनी गाउँपालिकामा एक मतदानस्थल थप गर्नका लागि सिफारिस भएको छ । “आयोगबाट निर्णय भएर आएपछि मतदानस्थल थप हुनेछ”, प्रमुख ढकालले भन्नुभयो । बन्दीपुर गाउँपालिका–६ स्थित साराङघाट कृषि सेवा केन्द्रमा मतदानस्थल थप्न सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा स्थानीय तहको सिफारिसअनुसारका पाँच सय दश मतदाता कायम गरिएको छ ।

व्यास नगरपालिका–५ चिन्तुटारस्थित शुक्र आधारभूत विद्यालयमा मतदानस्थल गर्न सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा जनजुक्त शाही मावि नेपालटारबाट स्थानीय तहको सिफारिसअनुसार पाँच सय आठ मतदाता कायम गरिएको छ ।

व्यास नगरपालिका–१० दुम्सीबजारस्थित शिव माध्यमिक विद्यालयमा मतदानस्थल थप्न सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा स्थानीय तहको सिफारिसअनुसारका चण्डीदेवी राष्ट्रिय मावि कुमालटारीबाट चार सय ६३ र भानु मावि दुम्सीचौरबाट तीन सय ३२ गरी सात सय ९५ मतदाता कायम गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका–२ स्थित शिला आधारभूत विद्यालय हलेदीमा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । उक्त स्थलमा साविक हंशबाहिनी मावि एक्लेखेतमा मतदान गर्नेमध्ये सात सय तीन जना मतदाता कायम गरिएको छ । शुक्लागण्डकी नगरपालिका–३ कवासेस्थित शहीद कृष्ण माविमा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । उक्त स्थलमा साविक निर्मल आधारभूत विद्यालय बनकेवामा मतदान गर्ने मतदातामध्ये स्थानीय तहको सिफारिसअनुसार एक हजार ५५ मतदात कायम गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी माध्यमिक विद्यालयमा मतदानस्थल थप गर्नका लागि सिफारिस गरिएको छ । यसैगरी जिल्लाका विभिन्न ठाउँमा रहेका सात मतदानस्थलको नाम परिवर्तन र सात मतदानस्थलको स्थान परिवर्तनका लागि सिफारिस भएको छ । देवघाट गाउँपालिका–१ स्थित गाविस भवन मतदान स्थललाई पार्वती मावि कोटामा स्थान परिवर्तन गरिएको छ । देवघाट–२ स्थित सिद्ध आधारभूत विद्यालय कोटवैदी मतदानस्थललाई सर्वोदय आधारभूत विद्यालय ब्यागनमा स्थान परिवर्तन गरिएको छ ।

देवघाट–२ स्थित कमला आधारभूत विद्यालय सानुभञ्ज्याङलाई कालीगङ्गा मावि बैदीमा स्थान परिवर्तन गरिएको छ भने देवघाट–३ गाविस भवन लुङ्ग्रीन मतदानस्थलको नाम परिवर्तन गरी ३ नम्बर वडा कार्यालय भवन राख्न सिफारिस भएको छ ।

बन्दीपुर गाउँपालिका–६ गाविस भवन धरमपानीलाई अरुण मावि हटियाबजारमा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा साराङघाट मतदानस्थलमा मतदान गर्ने पाँच सय १० मतदाताबाहेक साविकस्थलका सबै मतदाता कायम गर्न सिफारिस गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

व्यास–८ स्थित गाविस भवन फेदी मतदानस्थलको नाम परिवर्तन गरी ८ नम्बर वडा कार्यालय रिस्तीफेदी मतदानस्थल राख्न सिफारिस गरिएको छ । व्यास–९ स्थित नारायणचौर आधारभूत विद्यालय चण्डीथानको नाम परिवर्तन गरी नारायणचौर सामुदायिक भवन चण्डीथान राख्न सिफारिस गरिएको छ ।

शुक्लागण्डकी–१२ त्रिभुवन आधारभूत विद्यालय जसपुरलाई अमरज्योति आधारभूत विद्यालय रातमाटामा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । भिमाद नगरपालिका–४ गाविस भवन तुरतुरेलाई अमरज्योति आधारभूत विद्यालय रातमाटामा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । भिमाद–७ पोखरीछाप आधारभूत विद्यालय पोखरीछापलाई ७ नम्बर वडा कार्यालय पोखरीछाप नाम परिवर्तन गर्न सिफारिस गरिएको छ ।

भिमाद–९ स्थित हिमालय आधारभूत विद्यालय च्यानडाँडालाई भिमाद सामुदायिक भवन च्यानडाँडामा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । आँबुखैरेनी–६ गाविस भवन हिलेखर्कलाई कन्यादेवी मावि हिलेखर्कमा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । ऋषिङ–७ गाविस भवन अर्खलछापलाई ७ नम्बर वडा कार्यालय भवन अर्खलछाप र ऋषिङ–८ गाविस भवन पल्ट्याङलाई ८ नम्बर वडा कार्यालय पल्ट्ङयाङ नाम परिवर्तन गर्न सिफारिस गरिएको छ ।

जिल्लामा विसं २०७७ माघ १५ र १६ गतेको बैठकको निर्णयअनुसार एक सय ३६ मतदानस्थल र दुई सय ९७ मतदान केन्द्र कायम भएको थियो । सोही निर्णयका आधारमा जिल्लामा मतदानस्थल कायम गरी गत वैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जिल्लामा कायम रहेका मतदान केन्द्र र मतदानस्थल थपघट र स्थानान्तरणका लागि स्थानीय तहको सिफारिस बमोजिम आयोगमा पठाइएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले मतदानस्थल निर्धारणका लागि सिफारिस गर्दा साविकमा कायम रहेका मतदानस्थललाई आधार मानी सामान्य त्रुटि मात्र सच्याउनुपर्ने वा नयाँ मतदानस्थल थप्नुपर्ने वा साविकमा रहेका मतदानस्थल हटाउनुपर्ने वा गाभ्नुपर्ने वा एक मतदानस्थलमा रहेका मतदातालाई अर्को मतदानस्थलमा सार्नुपर्नेलगायतका विषयमा सर्वसम्मत निर्णय गर्नुपर्ने प्रावधान रहेको थियो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख वा प्रतिनिधि सदस्य, जिल्ला समन्वय अधिकारी सदस्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सदस्य र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।