७ बैशाख २०८१, शुक्रबार

सेनाको पोशाक लगाएर हिँड्ने होटलका संचालक पक्राउ

nepal army headquarter 1

लकडाउनमा नेपाली सेनाको पोशाक लगाएर सवारी चलाउने एक युवकलाई सेनाले पक्राउ गरेको छ।

सेनाको पोशाक लगाएर मोटरसाइकल चलाउँदै गरेका बाँसबारी बस्ने २९ वर्षीय सुशील खड्कालाई सेनाले पक्राउ गरेको हो।

बाँसबारीमा राजु कोल्डस्टोर नामको होटलका संचालक खड्कालाई सैनिक प्रहरीले महाराजगंजबाट पक्राउ गरेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले जानकारी दिए।

प्रहरीले चेकजाँच नगरोस् भनेर खड्काले सधैँ सैनिक पोशाक लगाएर आवतजावत गर्दै आएको खुलेको पाण्डेयले बताए।

“उनले सैनिक पोशाकको दुरुपयोग गरेका छन्। अब हामी छानविन गर्छौं,” पाण्डेयले भने, “सरकारले ६ महिनापहिले नै सर्वासाधारणलाई सैनिक पोशाक प्रयोग नगर्न सूचना जारी गरेको थियो।”

उनले सैनिक पोशाक कताबाट ल्याए भन्ने छानविन गरेर कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने बताए।

सर्वसाधारणले नेपाली सेनाको पोशाक लगाएर सवारी चलाउन थालेको पाइएपछि राजधानीका चार स्थान ९बानेश्वर, महारागन्ज, कालीमाटी र थापाथली०मा सैनिक प्रहरीले चेकजाँच सुरु गरेको छ।

प्रवक्ता पाण्डेयले आइतबारबाट चार स्थानमा सैनिक प्रहरीले सैनिक पोशाक लगाएर आउनेलाई चेकजाँच गर्न थालिएको जानकारी दिए।

“हामीले कार्यालयभित्र काम गर्नेलाई बाहिर जान नदिने र बाहिरकोलाई भित्र प्रवेशमा रोक लगाएका छौं,” उनले भने, “बजारमा सैनिक पोशाक लगाएर सवारी चलाउनेको संख्या बढेको सुनिएपछि चेकजाँच थालिएको हो।”

वीरगञ्जबाट ट्रक चढेर पोखरा आएका मानिस फर्काइए

वीरगञ्जबाट पोखरा आएका एकजनालाई आइतबार वीरगञ्ज नै फिर्ता पठाइएको छ ।

कोरोना प्रभावित क्षेत्रबाट पोखरा प्रवेश गरेको भन्दै महानगरले वीरगञ्जनै फर्काएको हो । ती पोखरा महानगरपालिका–५ पस्र्याङमा मजदुरी गर्ने व्यक्ति रहेको पाइएको छ ।

वीरगञ्जबाट ट्रक चढेर ती व्यक्ति शनिबार पोखरा आएका थिए । आटा–मैदा बोक्ने गाडीमा आएका उनले चेकजाँचका क्रममा सहचालक बताएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

‘बिना अनुमति पोखरा प्रवेश गर्नेलाई यहाँबाट फिर्ता पठाएका हौं । उनलाई यहाँ राखेको भए फेरि अर्को नजीर बस्थ्यो,’ उनले भने । नेपालीले स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासनको रोहबरमा ती व्यक्तिलाई वीरगञ्ज फिर्ता पठाइएको जानकारी दिए ।

कोरोना संक्रमण नभेटिएको पोखरामा केही समयअघि कास्की प्रशासनले विज्ञप्ति नै निकालेर लकडाउन खुकुलो भएको जनाएको थियो । निश्चित मापदण्ड तोकेर सवारी आउजाउका लागि पाससमेत आवश्यक नपर्ने बनाएको थियो ।

तर, पछिल्लो समय गृहमन्त्रालयले नै सबै जिल्लाका सवारी पास रद्ध गरी लकडाउन कडाइ गरेकाले पोखरामा पुनः लकडाउनमा कडाइ भएको छ । पोखरा प्रवेश गर्ने विभिन्न नाकामा कडाइका साथ चेकजाँच गर्न थालिएको छ ।