८ बैशाख २०८१, शनिबार

अझै सुरु हुन सकेन नर्सिङको भर्ना ?

Nurese
फाइल फोटो

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएसँगै कक्षा ११ मा अधिकांशमा नयाँ भर्ना प्रक्रिया शुरु भयो । तर स्वास्थ्य शिक्षाको नर्सिङको भर्ना भने अझै सुरु हुन सकेको छैन ।

कानुनी र प्राविधिक समस्या देखाउँदै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभिटीले नर्सिङमा भर्ना प्रक्रिया नै अघि बढाउन नसकेको हो । यसले अभिभावकसमेत अन्योलमा परेका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभिटीअन्तर्गत नर्सिङको पढाइ हुने शैक्षिक संस्था दुई वर्ष अघिसम्म १ सय ११ वटा रहेकोमा हाल ३१ वटामा सीमित छ ।

नर्सिङको पढाइप्रति धेरै विद्यार्थीको रुची भए पनि कानुनी झमेलाकै कारण ८० वटा नर्सिङ कलेज बन्द भएका छन् । यसले धेरै विद्यार्थी आफ्नो रोजाइको विषय पढ्नबाट बञ्चित हुने अवस्था आएको छ ।

अर्कोतिर सीटीइभिटीले एसइइको नतिजा सार्वजनिक भएको १० दिन भइसक्दासमेत अरु सबै विषयको भर्ना खोले पनि नर्सिङमा प्रक्रिया नै अघी बढाएको छैन ।

त्यसो त अघिल्लो वर्ष पनि सीटीइभिटीले नर्सिङ्मा ढिलो गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाएको थियो । समयमै भर्ना नखोल्दा नर्सिङ नै पढ्ने भनेर बसेका विद्यार्थी दुविधामा परेका छन् । अहिले भर्ना नगरी बस्दा पछि नर्सिङसमेत पढ्न नपाए विद्यार्थीको भविष्य अन्योलमा पर्ने चिन्ता अभिभावकको देखिन्छ ।

चिकित्सा शिक्षा आयोगले अनावश्यक बखेडा निकाल्दा नर्सिङ्मा भर्ना प्रकृया अघि बढाउन ढिलाइ भएको सीटीइभिटीले आरोप लगाएको छ । त्यति मात्र होइन, आयोगले यसै वर्ष ६५ वटा शैक्षिक संस्थालाई माथिल्लो कक्षा सञ्चालनको अनुमति दिएका १ सय ५ वटा शैक्षिक कार्यक्रम र नर्सिङमा सिट निर्धारण नगरिदिँदा पनि समस्या भएको सीटीइभिटीको भनाइ छ ।

धेरैजसो नर्सिङ क्याम्पस बन्द हुँदा विद्यार्थीहरु नर्सिङ शिक्षा अध्ययन गर्नबाट बञ्चित छन् । भर्नाका बेला देखिने कानुनी झमेला समयमै समाधान गरी विद्यार्थीले चाहेको विषय पढ्न पाउने सुनिश्चित गर्न आवश्यक छ ।