१६ चैत्र २०८०, शुक्रबार

गलत प्रवृत्तिको सधै विरुद्धमा रहनु पर्छ, तिलाञ्जली दिन सकिँदैन राष्ट्रहितलाई : केपी ओली

kp oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रव्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका हुन् । उनले सुगौली सन्धीको चर्चा समेत गरे ।

‘सुगौली सन्धिमा महाकाली पारीको भूभाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्साबाट त्यो भूभाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि म प्रधानमन्त्रीबाट हट्नुपर्नेछ भन्ने थाहा थियो । नभन्दै हट्नुपर्यो पनि’, ओलीको दावी छ ।

सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको पनि ओलीको भनाइ छ ।

उनले आफुहरु कसैका विरुद्ध नरहेको भन्दै आफ्नो राष्ट्रियताका पक्षमा रहेको बताए । ओलीले शब्दजालले काम नगर्ने पनि बताए । ‘कुटनीति त्यतिबेला हुन्छ, बेइमानी गरेर, राष्ट्रिय हित छाडेर कुनै राष्ट्रिय हित हुँदैन’, उनले भने, ‘कुटनीति राष्ट्रिय हितप्रति समर्पित भएर राष्ट्रहितमा अडेर सफलता प्राप्त गर्नु कुटनीति हुन्छ ।’

उनले देशलाई आमासँग तुलना गरिएको भन्दै राष्ट्रहितलाई तिलाञ्जली दिएर कुनै पनि बेठीक कार्य गर्न नसकिने बताए ।

कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले राष्ट्रहितमा देखाएको र चालेको कदमको प्रशंसा पनि गरे । यस्तो गलत प्रवृत्तिको सधै विरुद्धमा रहनु पर्ने बताए । कार्यक्रममा उनले पुस्तकले नेपालको जलस्रोतलाई उर्जासँग मात्रै नजोडेर विश्वभर खानेपानी आपुर्तिको रुपमा पनि व्याख्या हुनुपर्ने बताए ।