२० आश्विन २०८१, आईतवार

सन्देश के शर्माको दोस्रो इनिङ्स‍को अर्थमा ?

ezgif.com gif maker 2

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको र करका दर हेरफेर गरेको मात्र नभई गल्ती ढाकछोपसमेत गरेको गम्भीर आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्री नियुक्त हुनु भएको छ । यसले अनियमितता र भ्रष्टाचारलाइ बढावा नदेला भन्न सकिन्न ।

अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपमा छानबिन हुने भएपछि जनार्दन शर्माले पदबाट राजीनामा दिँदै गर्दा उहाँको कार्यकाल लगभग एक वर्ष पूरा भएको थियो ।

अर्थ मन्त्रालय सम्हालेदेखि नै विभिन्न समयमा विभिन्न प्रकारका विचौलियालाई संरक्षण गरेको, अर्थतन्त्र धरासायी बनाएको आरोप लाग्दालाग्दै अन्ततः नीतिगत कुरामै विचौलियालाई प्रवेश गराएको जघन्य आरोप उहाँमाथि लाग्यो ।

विनियोजन विधेयक बनाउने कुरामा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेलगत्तै नैकिताका आधारमा राजीनामा दिएर छानबिनका लागि बाटो खोल्नुपर्नेमा शर्माले चोरले खुट्टा उचालेसरी अन्टसन्ट प्रतिक्रिया दिँदै हिँड्नुभयो । आरोपबारे छानबिन गर्न सहज हुने, झुटो आरोप भए तत्कालै सफाइ पाउन सक्ने सर्वसुलभ प्रमाण सीसीटीभी फुटेजमै मन्त्री शर्मासहित अर्थमन्त्रालय तर्सियो ।

समयक्रमले च्यापिँदै गएपछि बाध्य भएर गठन गरिएको संसदीय छानबिन विशेष समितिले सीसीटीभी फुटेज पाउन सकेन अर्थात् जसरी अपूरो रुपमा सीसीटीभी फुटेजका अपूरा तस्वीरहरु प्राप्त भए शर्माले त्यसरी नै अपूरो रुपमा निर्दोषिताको प्रमाण प्राप्त गर्नुभयो । यसभित्र भएका अनेक राजनीतिक तिकडम र अस्तित्वको लडाइँले शर्मालाई पुनः पदमा त पुर्‍याउने भयो तर उहाँमाथि लागेको दाग भने कुनै पनि साबुनले तत्कालै पखालिने देखिँदैन ।

भूकम्प, भारतीय नाकाबन्दी, त्यसपछिको कोरोना र कोरोनाभन्दा पनि ठूलो रुपमा देखिएको राजनीतिक अस्थिरताको कारण तीव्र रुपमा ओरालो लागिरहेका बेला अस्थिरताकैबीचबाट जन्मिएको सरकारलाई अर्थतन्त्रलाई सही लेनमा राखिरहनु ठूलै चुनौतीको कुरा थियो ।

यो चुनौतीबाट पार पाउन तत्कालीन अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले त्यसअघि ऊर्जामन्त्री हुँदा कमाएको नामले मात्र होइन पुरै शक्ति खर्चिनुपर्ने थियो, त्यो शक्ति नैतिकतादेखि नीति बनाउनेसम्ममा र व्यवस्थापनदेखि थिति बसाउने सम्ममा हुनुपर्थ्यो । तर उहाँले कुनै दूरगामी सोचभन्दा पनि अपरिपक्व निर्णय र व्यवहारको अविरल वर्षा गराइरहनु भयो ।

कोरोनाका कारण खुम्चिँदो पर्यटन व्यवसाय, खोप र अन्य सामग्री खरिद, वैदेशिक अनुदान र ऋणको कमजोर गतिजस्ता कुराले वैदेशिक मुद्राको सञ्चिति घटिरहँदा प्रतीतपत्र एलसी खोल्न शर्माले गरेको निर्णय अपरिपक्व रुपमा छरपस्ट भयो । अछामका युवक पृथ्वीबहादुर शाहका नाममा अमेरिकाबाट आएको ४० करोड रुपैयाँ छुटाउनका लागि देखाएको अग्रसरताले त उहाँको ओज झन तीव्र गतिमा ओरालो लाग्यो ।

यहीबीचमा गभर्नर महाप्रसाद अधिकारीको निलम्बन प्रकरणले शर्मालाई अर्थमन्त्रीका रुपमा झन कमजोर बनाउँदै लगेको थियो । मन्त्री बनेर एक वर्षे कार्यकाल पूरा नगर्दै अर्थतन्त्रका कयौँ सूचकहरु कमजोर पार्ने कुरामा कतिपय अवस्थामा अभिव्यक्ति र कतिपय अवस्थामा व्यवहारका कारण शर्मामाथि आरोपहरुको शिलशिला जारी नै थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट आफ्नो अनुकुल हुने गरी संशोधन गरेर पनि खर्च गर्न नसकेका शर्मा र सरकारमाथि चौतर्फी रुपमा चियोचर्चो हुनु स्वभाविक थियो ।

यति हुँदाहुँदै अनधिकृत व्यक्तिलाई नै बजेट निर्माणमा सहभागी गराएको आरोप लागेपछि स्वभाविक रुपमा केही समय सरकारबाहिर बसिदिएको भए शर्माको जुँगा थप चम्किलो हुने थियो । तर त्यसो नभई अलोचकहरुलाई देखाइदिने भन्दै शक्तिको दुरुपयोग गरेर उहाँ फेरि मन्त्रालय फर्किनु भएको छ ।

आरोप पुष्टि भएन भन्ने कुराको थप पुष्टि उहाँको पुनर्नियुक्तिले त कसरी गर्ला तर यतिबेला बदला र अहंकारमा भने शर्मासहित उहाँको पार्टी नेकपा माओवादी थप बलियो बनेको छ ।

बजेट प्रकरणमा आफ्नो परिवारका सदस्यको नाम पनि मुछिएकाले सायद प्रधानमन्त्री शेरबहादुर देउवासमेत शर्माको व्यग्र पखाई र स्वागतमा बसिरहेको दृष्य पर्दा अगाडि बसेर हेरिरहेका आम मतदाताको आँखामा नमजैले बिझाएको छ ।

अर्थतन्त्रमाथि गरिरहेको निम्नस्तरको मजाकले यही चुनावी वर्षमै राजनीतिक नतिजा देखिएला भन्ने अपेक्षा गर्नु त कमजोर भविष्यवाणी हुन सक्ला तर यो गति र मतिले मुलुकको अर्थतन्त्र र अन्तर्राष्ट्रिय साख भने अवश्यक धुमिल हुँदै जाने निश्चित छ ।