१६ आश्विन २०७९, आईतवार

अपडेट कोरोना: सङ्क्रमणबाट दुई जनाको निधन, ४३८ सङ्क्रमित

corona virus graph

आज चार सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार छ सय ९९ जनामा गरिएको परीक्षणमध्ये चार सय ३८ मा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ६९ रहेको छ । विगत २४ घण्टामा दुई सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ६६ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।

यस्तै मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य सङ्क्रमित रहेका छन् । हाल होम आइसोलेसनमा चार हजार दुई १८, संस्थागत आइसोलेसनमा एक सय ५१ र सघन उपचार कक्ष (आइसियु)मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ ।

यसैगरी विगत २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।