११ बैशाख २०८१, मंगलवार

रातारात धनी हुन फिल्मी शैलीमा अपराध : एक जनाको निधन, पाँच जना जेलमा

ar

लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखानको चरितार्थ भएको छ बाँकेको कोहलपुरमा । दक्षिण भारतीय चलचित्रकै शैलीमा रातारात धनी हुन रचिएको एक फिल्मी शैलीको दुर्घटना र इन्सुरेन्स दाबी प्रकरणको पटाक्षेप हुँदा एक जनाको ज्यान गएको छ भने पाँचजना जेल जाने भएका छन् ।

घटना विवरण
बाँके कोहलपुर ११ बस्ने सर्जन विक टिप्परमा बालुवा लोड गर्ने काम गर्दै आएका थिए । कामबाट फर्कने क्रममा विक चढेको मोटरसाइकललाई गत वर्ष वैशाख २ गते टोपबहादुर राना क्षेत्रीले चलाएको मिनी बसले ठक्कर दिएपछि उनको घटनास्थलमै निधन हुन्छ ।

निधनपछि टोपबहादुरलाई ३० दिन कैद र २ हजार जरिवाना फैसला हुन्छ । सर्जनका परिवारले ५ लाख बीमावापतको रकम पनि पाउँछन् ।

हत्या कि दुर्घटना ?
सर्जनको निधन भएको दुई महिनापछि मृतक सर्जन विककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्सुरेन्सबाट सावधिक जीवन बीमा र म्यादी बीमावापत २ करोड ५० लाख लिन्छिन् ।

सर्जनसँग बिहैकै दिन मात्र भेटिएकी र उनको अन्तिम संस्कारमा समेत सहभागी नभएकी मल्ललाई प्रहरी रिपोर्टका आधारमा इन्सुरेन्सले पनि भुक्तानी दिन्छ ।

रकम भुक्तानी लिएर भागबण्डा भइसकेपछि रिलाइन्स लाइफ इन्सुरेन्सले विमितको आम्दानी, विमाङ्क रकम र दाबी समेतमा आशंका गरी सीआइबीमा अनुसन्धानका लागि मुद्दा दर्ता गर्दछ । अनि खुल्छ रहस्यको पर्दा । नक्कली बीमा, नक्कली बिहे अनि सक्कली हत्या ।

२ करोड ५० लाखको भागबण्डा
१. इन्सुेन्स गराउने सन्जीव अर्याल –८० लाख छत्तीस हजार
२. बप्मा रकम ल्याउन सघाउने दिपक केसी–६० लाख
३. नक्कली श्रीमती बनाइएकी सपना मल्ल– ८६ लाख ८९ हजार
४. सपना मल्लकी आमा छवीकुमारी खत्री– १७ लाख ४६ हजार
५. एटीएम कार्ड– ३ लाख ३ हजार
६. पीओएस– २ लाख ६९ हजार
७. व्यालेन्स रिचार्ज– ५ हजार ३ सय

शंकाको सुई
मृतकको बीमा गर्न सञ्जिव अर्याल आफैले ५ लाख ४० हजार तिरिदिएको अनुसन्धानमा देखियो । बीमा अभिकर्ता भनिएका सरदार अममद खाँसँग अर्यालले निरन्तर सम्पर्क गरेका थिए । बीमा गराइदिँदा कालगतिको बीमा नभनेर दुर्घटना बीमा बनाइएको थियो ।

बीमा अभिकर्ता खाँकै बाइक प्रयोग गरिएको थियो भने सर्जन विकको दुर्घटनापछि सपना मल्ल, सन्जिव अर्याल, सरदार अहमद खाँ, ड्राइभर टोपबहादुरको सम्पर्क र भेटघाट निरन्तर देखिएपछि प्रहरीले जघन्य अपराधको पर्दा उघार्न सफल भएको हो ।

अनुसन्धानपछि प्रहरीले घटनाका दोषीहरुलाई पक्राउ गरेको र उनीहरुले अभियोग स्वीकार समेत गरिसकेका छन् ।

पक्राउ व्यक्ति
१. बाँके कोहलपुरकी २१ वर्षीया सपना मल्ल
२. स्याङजा वालिङ घर भई कोहलपुर नगरपालिका –११ बस्ने ३१ पर्षीय सन्जिव अर्याल
३. बाँके कोहलपुर वडा नम्बर –१५ बस्ने सरदार अहमद खाँ
४. मिनी बस चालक बाँके बैजनाथ– ८ बस्ने टोपबहादुर राना क्षेत्री
५. बाँक कोहलपुर–११ बस्ने दीपक केसी
६. सपना र सन्जिवबीच भेट गराइदिने विचौलिया कोहलपुर–१ की ललिता सापकोटा

सुन्दै अनौठो लाग्ने र पत्याउनसमेत गाह्रोपर्ने आपराधिक कर्मको जालो प्रहरीले तोडेको छ । तर समाजमा अझै पवित्र बिहेलाई पैसाका लागि प्रयोग गर्ने अपराध कर्मले ज्यान मात्र गएको छैन, जीवन नै जेलको कोठरीमा पनि पुगेको छ। समाजका हरेक नागरिकले नागरिक प्रहरीकारुपमा यस्ता अपराध नगर्ने र हुन नदिने तर्फ सचेत हुन जरुरी छ ।