१५ चैत्र २०८०, बिहीबार

मुलुककै जेठो वीर अस्पतालको सेवा सुस्त

Narayani Hospital, Birgunj

लामो इतिहास बोकेको र अधिकांश रोगको उपचार हुने वीर अस्पतालको सेवा भने चुस्त छैन । अस्पतालले दिने सेवाको गुणस्तर सुधारमा भएका प्रयास पनि सफल भएका छैनन् । तर पनि सरकारले सेवा सुधारका लागि सहयोगको प्रतिबद्धता जनाउन छाडेको छैन ।

अस्पतालको १ सय ३३ औँ वार्षिकोत्वमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अस्पताललाई थप गुणस्तरीय सेवा प्रदान गर्न शुभकामना मात्र दिएनन् पर्याप्त बजेट छुट्याउने बचनसमेत दिए ।

सामान्यदेखि विशिष्टिकृत सेवा दिँदै आएको वीर अस्पतालमा गत वर्ष ४ लाख ३३ हजार १ सय ८ जनाले उपचार गराएका थिए । ३ सय ५ जना चिकित्सकसहित १६ सयभन्दा बढी कर्मचारी रहेको यो अस्पतालमा अझै जनशक्तिको अभाव छ ।

कोभिड महामारीका बेला पनि यो अस्पतालले धेरैको उपचार गरेको थियो । क्यान्सर, मिर्गौला, मुटुलगायतका रोगको उपचारमा अब्बल ठहरिँदै आएको यो अस्पताल बिरामीको रोजाइमा पर्छ । तर प्रशासनिक झमेला र काम ढिलो हुने समस्या भने जहिले पनि उस्तै हुन्छ ।

धेरै बिरामीको उपचार गरे पनि अस्पताललाई सधैं आर्थिक समस्या छ । गत वर्ष सरकारले २ अर्ब ३६ करोड बजेट विनियोजन गरेको भए पनि यस पटक ८७ करोड मात्रै छुट्याएकाले कर्मचारीलाई तलब खुवाउनैसमेत समस्या भएको अस्पताल प्रशासनको गुनासो छ ।

मुलुकभरकै बिरामी उपचार गर्न आउने वीर अस्पतालमा आधुनिक प्रविधिसँगै दक्ष जनशक्ति बढाउँदै सेवालाई प्रविधिमैत्री बनाउनेतर्फ सरकार नै बढी गम्भीर हुनुपर्ने देखिन्छ ।