१३ बैशाख २०८१, बिहीबार

ऐसेलुखर्क गाउँपालिकामा कुकुरको आतंक: तीन महिनामा ८९ घाइते

Rabies Dog Bites

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ ।

गत वैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन् ।

गम्भीर घाइते ६ जनालाई काठमाडौं रेफर गरिएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए । 

केही दिनअघि ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा घर पालुवा कुकुरले ५ जनालाई टोकेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क रैकरमा भैंसी, गोरु र खसीलाई कुकुरले टोकेर घाइते बनाएको छ । कतिपय घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

कतिपय कुकुरले घर पालुवा पशु तथा चौपायलाई गोठमै गएर आक्रमण गर्नेगरेको स्थानीय बताउँछन् । हुल बाँधिएर हिड्ने कुकुरले खसी, गोरु, गाई, भैंसी, भेडा लगायतलाई आक्रमण गर्नेगरेका छन् । गत चैतमा ऐसेलुखर्कको चित्रेमा कुकुरले टोकेको भैंसी र गोरु मरेको राजभण्डारीले बताए । 

कुकुर आतंकका कारण गाउँपालिकाबासी त्रसित छन् । बेवारिसे अवस्थामा हिँडडुल गर्ने कुकुरले टोक्न थालेपछि विद्यार्थीलाई आवत–जावत गर्न, स्थानीयलाई हाटबजार गर्न, मेलापात जान समस्या हुन थालेको छ ।

कुकुरको आतंक बढेसँगै गाउँपालिकाले १० साउनमा बिज्ञाप्ती जारी गर्दै घर पालुवा कुकुरलाई बाँधेर राख्न, साँझको बेला हिँडडुल गर्दा सावधानी अपनाउन, आफ्नो सुरक्षा आफै गर्न आव्हान गरेको छ । कुकुरले टोक्न थालेपछि वडा–वडामा कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको थियो ।