१५ चैत्र २०८०, बिहीबार

के हो ? डब्ल्युएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको मंकीपक्स

Monkey

सन् २०२२ मा मध्य र पश्चिम अफ्रिकी देशमा देखिएको मंकीपक्स संक्रमण अहिले विश्वका धेरै मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरेको मंकिपक्स के हो त ?

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ । ७५ देशमा फैलिएको मंकीपक्स अन्य देशमा पनि फैलन सक्ने चेतावनी डब्ल्युएचओले दिइसकेको छ ।

यद्यपि नेपालमा भने मंकीपक्स संक्रमण देखिएको छैन । तर भारतमा केही व्यक्तिमा मंकीपक्स संक्रमण पाइएसँगै नेपालमा पनि फैलन सक्ने सम्भावना बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाई छ ।

मंकीपक्स संक्रमण मंकीपक्स नामक भाइरसको कारणले हुन्छ । यो भाइरस सबैभन्दा पहिले बाँदरमा देखिएकाले मंकीपक्स भनिएको हो । मुसा, बाँदरजस्ता जनावरमा यो भाइरस बस्ने भएकाले यी जनावरको सम्पर्कमा आउँदा यो भाइरस मानिसमा सर्न सक्छ ।

श्वासप्रश्वास तथा संक्रमित छालाको सम्पर्कमा आउँदा यो भाइरस सर्न सक्छ । विश्वमा बढीजसो समलैगिंक यौन सम्पर्क राख्ने व्यक्तिहरुमा मंकीपक्सको संक्रमण देखिएको चिकित्सकको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १६ हजारभन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण देखिएको छ भने संक्रमित पाँच जनाको मृत्यु भइसकेको छ । त्यसैले नेपाल सरकारले पनि मंकीपक्स संक्रमण फैलन नदिन अन्तर्राष्ट्रिय विमानस्थलदेखिनै तयारी गरिरहेको छ ।

मंकीपक्सले कमै व्यक्तिमा मात्रै जटिलता देखिन्छ । चिकित्सकका अनुसार मंकीपक्सको संक्रमण भए पनि केही हप्तामा आफैं निको हुन्छ । बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीलाई भने यसले समस्या निम्ताउन सक्ने चिकित्सकको भनाइ छ ।