१६ चैत्र २०८०, शुक्रबार

सीसीटीभी दृश्य फेला पार्न नसक्नुले सिंहदरबारकै सुरक्षामा प्रश्न

shinghdurbar

मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा सर्वसाधारण प्रवेशका लागि दक्षिण तर्फ र मन्त्री र सरकारी पदाधिकारी मात्रै प्रवेश गर्ने मुल ढोका पश्चिम तर्फ छ ।

पूर्वी र उत्तर तर्फ समेत सबैतिर सेना र प्रहरीको तैनाथी हुँदा निगरानीका लागि सीसी क्यामेरा समेत राखिएको छ । त्यसो भए के सिंहदरवार पूर्णरुपमा सुरक्षित छ ?

तर बजेट निमार्णका बेला अनाधिकृत व्यक्ति प्रवेश सम्बन्धी घटनाको छानविनका क्रममा खोजिएको सीसीटीभी दृश्य नभेटिनुले सिंहदरवारको सुरक्षा माथि नै गम्भीर प्रश्न उठेको हो ।

दक्षिण गेटबाट व्यक्तिगत रुपमा प्रवेश गर्नेहरुको तथ्यांक सुरक्षाकर्मीले राख्छन् । तर मन्त्री वा सरकारी पदाधिकारीको गाडीमा अरु को को हुन्छन ? त्यो विवरण कतै राखिंदैन । सिंहदरवारमा कति मान्छे ? कहाँ, कसरी घुमिरहेका छन ? त्यो पनि निगरानीमा छैन। प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय बाहेक अरुमा सुरक्षाकर्मी समेत राखिएका छैनन ।

हुन त सिंहदवार भित्रको सुरक्षाकै लागि प्रहरीको गण नै छ । तर सेवाग्राहीले प्रवेशमा सास्ती भोग्नुपर्ने अनि कुनै घटना विशेषका बेला छानविन गर्दा कुनै तथ्य नभेटिने अवस्थाको जिम्मेवारी कसले लिन्छ ?

त्यसो त अरुलाई ९० दिनसम्म सीसी क्यामेराको दृष्य सुरक्षित राख्नुपर्ने कानुन बनाउने सरकारले आफनै संयन्त्रभित्र किन पालना गराउन सकेन ?

बजेटमा अनाधिकृत व्यक्तिको प्रवेश थियो कि थिएन ? त्यो छानविन समितिको नियत र क्षमताले देखाउँला । तर यो प्रकरणले प्रमुख प्रशासनिक केन्द्रको सुरक्षा प्रणाली नसुधार्ने हो जुनसुकै बेला अप्ठ्यारो अवस्था आउन सक्छ भन्ने प्रष्ट भएको छ ।