८ बैशाख २०८१, शनिबार

भन्सार तथा अन्तःशुल्क छुट दिएपछि एक वर्षमा भित्रिए १ हजार ८०७ विद्युतीय गाडी

electric car

सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चारपाङ्ग्रे सवारी साधन नेपाल भित्रिएका हुन् ।

file photo
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ मात्रै विद्युतीय चारपाङ्ग्रे सवारी आयात भएकामा गत आर्थिक वर्ष उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षसम्म न्यून मात्रामा नेपाल भित्रने गरेको विद्युतीय गाडीमा सरकारले गत आर्थिक वर्षको बजेटमार्फत भन्सार र अन्तःशुल्कमा छुट दिएको थियो । सरकारले बजेटमार्फत नै भन्सार तथा अन्तःशुल्कमा छुट दिएपछि नेपाल भित्रने विद्युतीय गाडीको सङ्ख्यामा वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको एक वर्षको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १६७ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६९६ गरी ८६३ वटा गाडी नेपाल भित्रिएका हुन् ।

चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६९६, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताको १३२ र फ्रान्सबाट एक वटा गाडी नेपाल भित्रिएका छन् ।

यस्तै युकेबाट १०० देखि १५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२ वटा, जापानबाट ७८, बेलायतबाट चार वटा गाडी नेपाल आएका छन् ।

एक वर्षको अवधिमा एक हजार ८०७ वटा विद्युतीय गाडी नेपाल भित्रँदा रु एक अर्ब ४३ करोड ९२ लाख बराबर राजस्व सङ्कलन भएको छ ।

सरकारले देशमा विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडी आयातमा रोक लगाइ बजेटमा छुट दिँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको व्यवसायीहरूको भनाइ छ ।

    सम्बन्धित समाचार...