७ बैशाख २०८१, शुक्रबार

कहाँ अड्कियो प्रचण्ड–बाबुरामबीच एकताको हलो ?

komal 0li baburam prachanda 1
फाइल फोटो

संघ र प्रदेश निर्वाचनको मिति तोक्ने तयारी भइरहँदा नेपालका कम्युनिष्ट पार्टीहरुमा नयाँ छटपटी शुरु भएको छ ।

कांग्रेससँग सत्ता गठबन्धनको बाध्यतामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई थप शक्तिशाली बनाउने प्रयत्नमा लाग्नुभएको छ भने जसपामा विद्रोहको तयारीपछि कारबाहीमा परेर दलविहीन अवस्थामा पुगेका बाबुराम भट्टराई पनि नयाँ यात्राको खोजीमा हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी चुनावमा थप शक्तिशाली बनेर प्रधानमन्त्री बन्ने रणनीतिमा हुनुहुन्छ । तर हालसम्म प्रचण्डको दौडधुपले सार्थकता पाइसकेको छैन ।

समाजवादी केन्द्रमार्फत् नयाँ राजनीतिक यात्रा शुरू गर्न हौसिएका प्रचण्ड जनता समाजवादी पार्टीका संघीय परिषद्का पूर्व अध्यक्ष डा. बाबुराम भट्टराईसँग निरन्तर छलफलमा हुनुहुन्छ ।

तर, बाबुरामले २०४२ सालदेखि सक्रिय राजनीतिमा लागेको कम्युनिष्ट विचार नै त्याग्ने निर्णय गरेकाले कम्युनिष्ट नामको पुच्छरमा एकताको हलो अड्किएको छ । अहिले प्रचण्डसहित कम्युनिष्ट पार्टीसँग एकताका लागि वार्ता गरिरहेका भट्टराईलाई कम्युनिष्ट नाममा समस्या छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको राजनीतिक जीवनको सबैभन्दा धेरै ऊर्जा र समय कम्युनिष्ट पार्टीमै बित्यो । बाबुराम अहिले आफूलाई कम्युनिष्ट हुँ भन्नै नचाहने अवस्थामा पुग्नुभएको छ ।

बाबुरामलाई मनाउन प्रचण्ड कम्युनिष्ट नाम त्याग्न तयार हुनुहुन्न । तर बाबुरामबिना आफ्नो आगामी अभिष्ट पुरा हुन नसक्ने बुझाइ भने प्रचण्डमा विकसित भइसकेको छ ।

बाबुराम अहिले पनि गैरकम्युनिष्ट पार्टी निर्माण गर्नेतिर अघि बढिरहनुभएको छ । बाबुरामले यसअघि आफैंले नयाँ शक्ति नामको गैरकम्युनिष्ट पार्टी घोषणा गर्नुभयो ।

अहिले स्वयं भट्टराई पनि माओवादीमै फर्किन खोजे पनि उहाँ कम्युनिष्ट नाममै अल्झिरहनु भएको छ । भट्टराईले आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताउनुभएको छ । आखिर बाबुरामलाई किन हुन्छ कम्युनिष्ट नामसँग एलर्जी ?

तर, कम्युनिष्ट पार्टीको नामै सुन्न नचाहने भट्टराई जसपा छाडेपछि भने परम्परागत धारको कम्युनिष्ट पार्टीभन्दा माथि उठ्ने सर्तमा एक हुन सहमत हुने भने देखिन्छ ।

अस्तित्व रक्षाको लडाईँमा रहेका बाबुराम र प्रधानमन्त्री हुने व्यग्र चाहना बोकेका प्रचण्डबीच कुनै न कुनै नाममा सहमति भयो भने नेपाली राजनीतिमा आश्चर्य भने हुने छैन ।