१५ चैत्र २०८०, बिहीबार

एक्लाएक्लै चुनावमा जाँदा किन अरुको वैशाखी टेक्न पुग्छन् दलहरु ?

kp oli madhav prachanda

जब निर्वाचन नजिकिन्छ तब विभिन्न नामका गठबन्धनको चर्चा हुन थाल्छ । एक दिन अघिसम्म एउटा दलसँग नजिक भएका दलहरु रातारात अर्को पार्टीसँग कुम जुधाउन पुग्छन् ।

यसरी तालमेल गर्दा दलहरुले न सिद्धान्त हेर्छन् न आम जनभावनाको कदर नै गर्छन् । एक्लाएक्लै चुनावमा जाँदा हार्ने डरले अरुकै वैशाखी टेक्न पुग्नेहरु पनि संवैधानिक व्यवस्थालाई दोष लगाउन पछि पर्दैनन् ।

२०५१ सालमा मनमोहन अधिकारीले ९ महिना अल्पमतको सरकार चलाउनुभयो । त्यसयता नेपालमा ३२ वटा सरकार बनेका छन् । २०५६ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वमा कांग्रेसको एकल बहुमतको सरकार बन्नुबाहेक अहिलेसम्म कुनै राजनीतिक पार्टीले एकल बहुमतको सरकार बनाउन सकेका छैनन् ।

देशमा संघीयता कार्यान्वयनपछि पनि २०७४ सालमा बाम गठबन्धनको सरकार बन्यो । त्यसपछि गत वर्ष असार २९ गते शेरबहादुर देउवा नेतृत्वमा पनि पुनः पाँच दलीय गठबन्धन सरकार बन्यो । यसअघिका सरकार पनि यसैगरी बन्ने र अल्पमतमा परेर विघटन हुने गरेको दृश्टान्त छ ।

पछिल्लो समय दलहरुले चुनावअघि नै गठबन्धन गर्ने गरेका छन् । आसन्न प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर अहिले पुनः विभिन्न गठबन्धन र एकताका प्रयास सुरु भएका छन् ।

तर, दलहरु चुनावी तालमेलमा लाग्दा न सिद्धान्तको ख्याल गर्छन् न त विचारधारा र जनभावनाको कदर नै गर्छन् । एक्लाएक्लै चुनावमा जान नसक्नु डर कि सत्ता मोह रु प्रश्न उठेको छ ।

नेताहरु सरकार निर्माण वा चुनावमा गठबन्धन गर्नुपर्नुलाई संविधानको व्यवस्थालाई कारक मान्छन । नेपालको संविधान अनुसार सरकारको नेतृत्व गर्न बहुमत हुनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा २७५ जना सदस्य रहने व्यवस्था छ । जहाँ १६५ सांसद प्रत्यक्ष निर्वाचनबाट र ११० जना समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । दलका नेताहरु यही प्रावधान अनुसार बहुमत प्राप्तिका लागि चुनावी तालमेल र गठबन्धन गर्नुपरेको प्रतिक्रिया दिन्छन् ।

यो परिपाटी नेपालमा मात्रै होइन बहुदलीय व्यवस्था आत्मसाथ गरेका अन्य देशमा पनि छ । यसको उदाहरणका लागि धेरै टाढा जानु पर्दैन, छिमेकी देश भारतमा पनि सरकार निर्माणमा गठबन्धन गर्ने गरिएको छ । त्यहाँ गठबन्धनकै सरकार पनि पूरा कार्यकाल चल्छन । नेपालमा एकल बहुमत वा गठबन्धनको सरकार बने पनि पूरा कार्याकाल चलेका छैनन्। सरकार जसरी बने पनि त्यसले स्थायित्व पाउनु आवश्यक छ ।

पार्टीहरु सत्तारोहणका लागि नै तालमेल वा गठबन्धनमा लाग्ने सत्य हो । यहि कारण नेपालमा तालमेल बिनाको निर्वाचनको परिकल्पना पनि हुन छाडेको छ ।

अनि दलहरु एउटै पार्टीलाई जनताले बहुमत दिँदैनन् भनेर अड्कलबाजी काट्न लाग्ने कि जनप्रिय योजना उठाउनतर्फ ध्यान दिने रु यसको जवाफ दलहरुले दिनै पर्छ ।