१४ बैशाख २०८१, शुक्रबार

नेपाल–मोरक्को द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

flag morocco nepal

नेपाल र मोरक्कोबीच पहिलो पटक द्विपक्षीय परामर्श संयन्त्रको बैठक बसेको छ । बैठक मोरक्कोको राबाटमा भएको हो । 

नेपाल र मोरक्कोबीच सन् २०१७ मा दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्झौता भएको थियो । स्थापना भएपछि संयन्त्रको बैठक बस्न सकेको थिएन । 

स्थानीय समयअनुसार बिहीबार बसेको संयन्त्रको पहिलो बैठकमा नेपाल–मोरक्को सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो । द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आर्थिक, प्राविधिक, पर्यटन, साँस्कृतिक सहयोग र मानव संसाधन विकास लगायतका क्षेत्रमा सहायता बढाउने विषयमा बैठकमा छलफल भएको थियो । 

बैठकमा जलवायु परिवर्तन, आप्रवासन, राष्ट्रसंघिय शान्ति मिसनमा योगदान र क्षेत्रिय आर्थिक सहायता लगायतका विश्वव्यापी मुद्दामा पनि छलफल भएको परराष्ट्रले जनाएको छ । 

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरत राज पौड्यालले गरेका थिए भने मोरक्कोको नेतृत्व मोरक्को विदेश मन्त्रालयको एसिया विभागका निर्देशक अब्देलकादर एल अन्सारीले गरेका थिए । 

    सम्बन्धित समाचार...