२० आश्विन २०७९, बिहीबार

लक्ष्य भेटेन भैरहवा भन्सार कार्यालयले, दुई खर्ब ८९ अर्ब व्यापार घाटा

bhairahawa

भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा लिएका राजश्व संकलनकाे लक्ष्य पार गर्न सकेन । कार्यालयलाई भन्सार विभागले यस आर्थिक वर्षका लागि एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संक्लन लक्ष्य दिएकोमा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ अर्थात ९० दशमलव  ९४ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

भन्सार विभागले लक्ष्य पार नभए पनि चालु आर्थिक वर्षका लागि एक खर्ब ५५ अर्बको लक्ष्य कार्यालयललाई दिएको छ । बजेटको आकार बढेकोले स्रोतको सुनिश्चितताका लागि अहिलेको वर्ष लक्ष्य थपिएकाे हाे । 

आर्थिक वर्ष २०७७/०७८ मा यस कार्यालयले लक्ष्यभन्दा १२ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । आर्थिक बर्ष २०७४/०७५ मा ८६ प्रतिशत, आर्थिक बर्ष २०७५/०७६ मा ८८ प्रतिशत, बर्ष २०७६/०७७ मा ६६ प्रतिशत मात्र राजश्व असुल गरे पनि  आर्थिक बर्ष २०७७/७८ मा भने लक्ष्यको ११२ प्रतिशत राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले मंसिरसम्म लक्ष्य अनुरुप सफलता हासिल गरे पनि ५ पुसबाट लागु हुने गरी नेपाल राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुको आयातमा अनिवार्य प्रतितपत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमी हुँदै आएको हो । ‘पुस महिनायता लक्ष्य अनुरुपको सफलता हासिल भएको छैन,’ भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले भने ।

यस भन्सार नाकाबाट मुख्य आयात हुने वस्तुमा केही प्रावधान आयो । जसका कारण विलासिताका बस्तुहरुको आयात घट्यो र प्रभाव वार्षिक लक्ष्यमा देखियो । अनुमानित १५ अर्ब आउने सामान रोकिएको छ ।  

आर्थिक वर्ष २०७८/२०७९ बेलहिया नाकाबाट दुई खर्ब ९६ अर्ब ९७ करोड ४० लाख १९ हजार रुपैयाँका विभिन्न मालवस्तु आयात भएको छ भने सात अर्ब ८८ करोड चार लाख ३३ रुपैयाँका मालवस्तु निर्यात भएको छ । आयातको तुलनामा निर्यात न्यून भएकै कारण दुई अर्ब ८९ अर्ब नाै करोड ३५ लाख ८६ हजार रुपैयाँले व्यपार घाटा भएको छ । यो दर विगतका वर्षहरु जस्तै हो । 

कार्यालयका अनुसार यस नाकाबाट भारतबाट आएका जीप, कार र भ्यानबाट २१ अर्ब ९३ करोड ६४ लाख ३३ हजार राजस्व संकलन भएको छ । यस्तै, मोटरसाइकलबाट १९ अर्ब, ९१ करोड, १५ लाख ९२ हजार, पिकअप तथा डेलिभरी भ्यानबाट पाँच अर्ब ७४ करोड ८८ लाख ६० हजार, एमएस विलेटबाट चार अर्ब ४० करोड पाँच लाख ९३ हजार पेट्रोलबाट चार अर्ब ६ करोड २५ लाख १४ हजार, ग्लेज टाइलबाट तीन अर्ब ४९ करोड आठ लाख ९४ हजार, हाइस्पिड डिजेलबाट दुई अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्यासबाट दुई अर्ब नाै करोड ४५ लाख ७७ हजार, मार्बल स्याल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख ८ हजार राजस्व संकलन भएको छ । 

भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाबाट न्यून रुपमा निर्यात हुने गरेको छ । एक बर्षमा कार्यालयबाट एक अर्ब ९० करोड मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएकोे छ ।

एक अर्ब पाँच करोडको भटमासको तेल, ५५ करोडको पिना, ४७ करोडको खोटो रेजिन,  ४४ करोडको खजुरको प्रशोधित तेल, ३९ करोडको लिड सिसा, ३५ करोडको चोकर भुस, २५ करुोडको काँच तथा डण्डी टयुब २१ करोडको चाउचाउ पास्ता, र २० करोडको स्टीलका भाडाकुडा लगायतका बस्तु निर्यात भएको छ ।

उत्पादनमूलक वस्तुलाई प्रवर्द्धन नगरे र निर्यातजन्य वस्तु स्वदेशमा उत्पादन नभएसम्म जति कडाई र प्रावधान लगाएपनि आयातमा कमि आउने छैन ।

मोटरसाइकल र स्मार्टफोन बन्देजमा थप व्यवस्था

१४ भदौसम्मका लागि विभिन्न १० वस्तुको आयातमा पूर्ण बन्देज लगाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल सरकारको निकासी पैठारी नियन्त्रण ऐन २०१३ के दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड ञ् को उद्धेश्य प्राप्त गर्न १३ वैशाखबाट १० वटा शीर्षकको आयातमा पूर्ण बन्देज लगाएको नेपाल राजपत्रमा उल्लेख छ ।

पूर्ण बन्देज लगाएको वस्तुमध्ये अधिकांस शीर्षकका वस्तु स्थलमार्गबाट नआई हवाई मार्गबाट आउने गरेको छ । पैठारी पूर्ण बन्देजभएको बस्तुहरु कुरकुरे, लेज लगायतका वस्तु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तीन सय डलरभन्दा बढीका मोबाइल सेट, ३२ इन्चभन्दा ठूला रंगीन टिभी, जीप कार भ्यान, १५० सिसीमाथिको मोटरसाइकल, सबै प्रकारको खेलौना र तास रहेको छ ।

यसअघि असार मसान्तसम्म २५० सिसीभन्दा माथिका मोटरसाइकल र ६ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयातमा बन्देज लगाइएको थियो । मुलुकको भुक्तानी सन्तुलनको अवस्था निरन्तर बिग्रिँदै गएपछि सरकारले अतिआवश्यक बाहेकका विलासी सामान आयातमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो ।