१६ चैत्र २०८०, शुक्रबार

नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै श्रीलंकामा

srilanka 2

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।

राष्ट्रपतिका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेसँगै विपक्षी समर्थित उम्मेदवार दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीका नेता अनुरा कुमारा दिसा नायके प्रतिष्पर्धामा छन् ।

हिजो बसेको संसद बैठकले अन्तिम उम्मेद्वार घोषणा गरेको थियो । तर प्रदर्शनकारीले विक्रमासिंघेको पनि विरोध गरिरहेका छन् । राष्ट्रपति चयनका लागि २२५ जना सांसदले मत दिने छन् ।

सदनबाट बहुमतको आधारमा नयाँ राष्ट्रपति चुनिने छन् । नयाँ राष्ट्रपतिले पूर्व राष्ट्रपति गोटाबाय राजपाक्षेको बाँकी रहेको कार्यकाल अर्थात नोभेम्बर २०२४ सम्म कार्यकाल सम्हाल्नेछन् ।

आर्थिकरुपमा टाट पल्टिएपछि त्यहाँ भोजन, इन्धन लगायत अन्य आधारभूत आवश्यकताका वस्तुको तीव्र अभाव छ । आर्थिक सहायताको बेलआउट प्याकेजका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग रोकिएको वार्ता जारी राख्न त्यहाँ स्थिर सरकार आवश्यक छ ।

चरम आर्थिक संकट र बढ्दो विरोध प्रदर्शनकाबीच राजपाक्षेले श्रीलंका छाडेका थिए । पूर्वराष्ट्रपति राजपाक्षे भागेर माल्दिभ्स र त्यसपछि सिंगापुर पुगेका थिए ।

यसैबीच सिंगापुरले राजपाक्षेलाई आफ्नो देश छाड्न आदेश दिएको छ। सिंगापुरको विदेश मन्त्रालयले उनलाई तत्कालका लागि शरण दिइएको भए पनि उनलाई राजनीतिक शरण दिन नसक्ने भन्दै देश छोड्न आदेश दिएको हो ।