
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सम्बन्धमा दुई दिनभित्र टुंगोमा पुग्नुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँगको भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले गठबन्धनको विषयमा बिहीबारसम्म टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले डाक्टर भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय सही भएको बताउनुभयो ।
उहाँले आफूहरु गठबन्धन लिएर जाने पनि बताउनुभयो । डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उहाँ गठबन्धनमै रहेको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो ।
उहाँले भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिबद्धता गरेको पनि बताउनुभयो ।