७ बैशाख २०८१, शुक्रबार

पदाधिकारी टुङ्ग्याउनै सकस माओवादी केन्द्रलाई

prachanda mao cc meeting
फाइल फोटो

सत्तारुढ माओवादी केन्द्रले पार्टी संरचना चुस्त दुरुस्त बनाउने प्रतिवद्दता टार्दै आएको छ ।

महाधिवेशन सकेको ६ महिनासम्म पार्टीलाई आफ्नै एकल नेतृत्वमा अल्मल्याएका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि पदाधिकारी टुङ्ग्याउन सकेका छैनन् । जबकि असारमा बसेको केन्द्रीय समितिलाई दाहालले एक सातामै पदाधिकारी चयन गर्ने भनेर थामथुम पारेका थिए ।

पुसमा महाधिवेशन गरेको माओवादी केन्द्रले असारसम्म अध्यक्ष बाहेक अरु पदाधिकारी चुन्नै सकेन । नेता व्यवस्थापनका लागि जम्बो बहुपदीय संरचनामा बनाएको माओवादीले असारको तेस्रो साता बल्लतल्ल स्थायी समिति र पोलिटव्युरो बनायो ।

तर पदाधिकारी अझै टुङ्गो लागेको छैन । त्यो बेला केन्द्रीय सदस्यहरुलाई चित्त बुझाउन दाहालले एक सातामै पदाधिकारी चयन गर्ने जवाफ दिएर पठाएका थिए । तर दुई साता नाघिसक्दा पनि पदाधिकारीलाई पूर्णता दिने सुरसार नै छैन ।

माओवादीले ७ उपाध्यक्ष सहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेर बहुपदलाई स्वीकारेको हो । तर मुख्य रुपमा महासचिवमा जनार्दन शर्मा र बर्षमान पुनले दावी नछाडेपछि दाहाल अप्ठ्यारोमा परेको देखिन्छ । अनि कहिले व्यस्तता र कहिले छलफल भैरहेको भनेर अध्यक्ष दाहालले आलटाल गर्दै आएका छन् ।

आफूले निर्णयको सर्वाधिकार लिएका अध्यक्ष दाहाल नै अनिर्णित र संकुचित हुँदा पदाधिकारी र पार्टी संरचना पूर्ण हुन नसकेको देखिन्छ । कार्यदिशामा दोधारे चरित्रलाई पनि विश्लेषकले त्यसैको कारण मान्छन् ।

त्यसै पनि माओवादी केन्द्र अविराम अध्यक्ष बनेका दाहालकै वरिपरि घुमेको छ । त्यसैले पदका आकांक्षीहरु पनि अध्यक्ष दाहालले देलान र लिउँला भनेर पर्खेर बसे जस्तो छ ।