१४ बैशाख २०८१, शुक्रबार

धेरै मृगौला रोगीबाट प्रसंशा बटुलिरहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

Shahid Dharma Bhakta Hospital

एक दशकदेखि मृगौला रोगको उपचार गर्दै आएको र प्राय: धेरै मृगौला रोगीबाट प्रसंशा बटुलिरहेको भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने भएको छ । विशिष्टिकृत स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षाको समेत अध्ययन गर्ने थलोका रुपमा प्रतिष्ठानका रुपमा विकास गर्न लागिएको हो ।

मृगौला रोगको उपचारका लागि १० वर्षअघि स्थापना भएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो, मुटु र पेटसम्बन्धी विशिष्टिकृत सेवा उपलव्ध गराउँदै आएको छ ।

एकसय शैय्याको यो अस्पतालले १० वर्षमा नौ सय जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपणसँगै मष्तिष्क निधन भएका व्यक्तिको अंग निकालेर पनि प्रत्यारोपणको काम केन्द्रले गरेको छ ।

विशेषज्ञ चिकित्सकसहित ३ सय स्वास्थ्यकर्मी र कर्मचारी रहेको अस्पताललाई सरकारले प्रत्यारोपणसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न लागेको हो ।

सामान्यतया भौतिक पूर्वाधारवाहेक एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न ५० करोड रुपैयाँ आवश्यक पर्छ । विशिष्टिकृत सेवा उपलव्ध गराउन भन्दै सरकारले ५ वर्षअघि यो अस्पताललाई भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको जग्गा र झौखेलमा समेत जग्गा उपलव्ध गराउने निर्णय पनि भएको थियो ।

मृगौला रोगीको संख्या बढ्दै गएपछि सातै प्रदेशमा डायलाइसिस सेवा विस्तार गर्ने र प्रतिष्ठानको रुपमा विकास गर्न विज्ञसँग छलफल गरि कार्ययोजना पनि मन्त्रालयमा पुयाइसकेको छ । यसबाट मुलुककै लागि आवश्यक प्रत्यारोपणसम्बन्धी दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको अभावमा धेरै विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि देशका विभिन्न स्थान र विदेशमा समेत जान बाध्य छन् । एमबीबीएस, बीडिएस नसिङ् जस्ता चिकित्सा शिक्षाको पठनपाठन समेत हुने भएपछि भक्तपुरका बासिन्दा सरकारी निर्णय यथाशीघ्र कार्यान्वयन हुने अपेक्षा गरेका छन् ।

एमबीबीएस, बीडीएससहित चिकित्सा शिक्षा अध्ययनका लागि वर्षेनी ८ सयको हाराहारीमा विद्यार्थी विदेशीने गरेका छन् । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गरिएपछि धेरै विद्यार्थीलाई सहज हुन सक्छ ।

    सम्बन्धित समाचार...