१६ चैत्र २०८०, शुक्रबार

‘अमेरिका आधुनिक इतिहासको सबैभन्दा भयावह स्थितीमा’

Rick Bright

अमेरिकाका पूर्व स्वास्थ्य अधिकारी रिक ब्राइटले अमेरिका कोरोनाभाइरसका कारण आधुनिक इतिहासको सबैभन्दा भयावह स्थितीमा भएको कांग्रेसमा बताएका छन् । रिक ब्राइट अमेरिकामा त्यो एजेन्सीको नेतृत्व गरिरहेका थिए जो कोरोना भाइरसको भ्याक्सिन बनाउन लागीपरेको छ ।

यद्यपि, उनलाई एक महिना अघि मात्रै राष्ट्रपति ट्रम्पले पदबाट हटाएका थिए । यसअघि रिक ब्राइटले आफूले ट्रम्पको अगाडि कोरोनाभाइरसको विषयमा उनको नीतिको विरोध गरेका कारण उनलाई पदबाट हटाइएको जानकारी दिएका थिए ।

यद्यपि, ट्रम्प प्रशासनले ब्राइटलाई ‘रिस उठाउने अधिकारी’ भनेर पदबाट निष्कासन गरेका थिए ।

ब्राइटले हाउस अफ रेप्रिजेन्टेटिभ्सको हेल्थमा बनेको सबकमिटीमा अमेरिकी सरकार कोरोनाभाइरसको विषयमा सुरुवातमा पूर्ण रुपमा निष्क्रिय रहेकोले नागरिकको मृत्यु भइरहेको बताएका थिए । ब्राइटका अनुसार उनले पहिलो पटक जनवरीमा मेडिकल उपकरणको कमीको विषयमा कुराकानी गरेका थिए । उनले यो कुरालाई उच्च स्तरीय डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्यूमन सर्भिसेजमा उठाउनुपर्ने बताएपनि यसलाई केही महत्व नदिएको उनले बताए ।

अमेरिकामा हालसम्म ८५ हजार बढीको मृत्यु भइसकेको छ । न्यूयोर्कमा मात्रै कोरोनाका कारण २७ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ ।

ब्राइटले भने, ‘कोरोना भाइरसको सुरुवातमा नै यसको असर कम गर्न सकिन्छ र यही मौका हो भनेको थिएँ तर कसैले पनि सुनेनन् । कुनै योजना नभएको २०२०, आधुनिक अमेरिकाको इतिहासको सबैभन्दा भयानक वर्ष हुनसक्छ । मैले कोरोनाको विषयमा सुरुवाती अवस्थामा नै कुरा उठाएँ तर कसैले केही सुनेनन् ।’

ब्राइटले भने, ‘मलाई पदबाट यसकारण हटाइयो किनभने मैले कोरोनाभाइरसको विषयमा कांग्रेसको तर्फबाट छुट्याइएको पैसाको वैज्ञानिक प्रयोग गर्नका लागि दबाब दिइरहेको थिएँ । जुन औषधी र भ्याक्सिनमा कुनै वैज्ञानिक गुण छैन, त्यसमा पैसा खर्च होस् भन्ने म चाहन्नथेँ ।मैले यसबारे बोलेँ र आज म कांग्रेसमा पेश भएर सबै कुरा बताइरहेको छु । म राजनीतिक नभई विज्ञानको आधारमा यो सबै भनिरहेको छु ।’

ब्राइटका अनुसार उनले क्लोरोक्विनको विषयमा एउटा लेख लेखेका थिए त्यसपछि उनलाई बायोमेडिकल एडभान्स रिसर्च एण्ड डेभलपमेन्ट अथोरिटीको निर्देशनको पदबाट हटाइएको हो । राष्ट्रपति ट्रम्पले एन्टी भाइरल ड्रग्स हाइड्रोक्लोरोक्विनलाई कोरोना भाइरस संक्रमितका लागि गेम चेन्जर बताएका थिए । यद्यपि, उनका अनुसार उनलाई थुप्रै विशेषज्ञले या प्रभावकारी नभएको र यो कति अवस्थामा त खतरनाक साबित हुनसक्ने बताएका थिए ।

स्रोतः बीबीसी