७ बैशाख २०८१, शुक्रबार

फोहर वर्गीकरणको सुरुवात, सफल होला त योजना ?

fohor

काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापन चुनौतीपूर्ण बनिरहँदा आजदेखि वर्गीकरण शुरु भएको छ । कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै राखेर गर्ने वर्गीकरणको शुरुवात कति सफल हुन सक्ला ?

अबदेखि काठमाडौं महानगरपालिकाले वर्गीकरण गरिएको फोहर मात्रै उठाउने छ । फोहर वर्गीकरण नगरे फोहर नउठाउने र फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ बमोजिम कसुर मानी प्रत्येक पटक पाँच सयसम्म जरिवाना गर्ने सूचनासमेत प्रकाशित गरिसकेको छ ।

यो सूचना प्रकाशन गरे पनि काठमाडौंबासीले फोहर वर्गीकरण गर्न शुरु गरिसकेका भने छैनन् । फोहर कसरी वर्गीकरण गर्ने भन्ने अन्योल हुँदा काठमाडौंको मध्य बानेश्वरकी चन्द्र सिन्हाले सबै फोहोर एकै ठाउँमा थुपार्नु भएको छ ।

फोहर वर्गीकरण गर्नुपर्ने भनिएपनि तरिका नजान्नु भएकी उहाँलाई फोहर वर्गीकरण गर्ने तरिका कसैले सिकाउथ्यो कि भन्ने लागेको थियो । तर सिकाउन र भन्न कोही नआएपछि उहाँले फोहर वर्गीकरण शुरु गर्नुभएको छैन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह घरघरमै पुगेर फोहोर बर्गिकरणका लागि अनुरोध गरिरहनु भएको छ । वर्षौदेखि जथाभावी फोहर थुपार्ने बानी परेका काठमाडौंबासीलाई यो बानी बदल्न केही समय भने लाग्ने दखिन्छ । त्यसैले वर्गीकरण गरेर मात्रै उठाउने योजना सफल बनाउन नागरिकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा निजी कम्पनीहरुको जोड छ ।

काठमाडौं महानगरपालिकामा उत्पादन हुने फोहर विभिन्न ३२ वटा निजि कम्पनीले उठाउने गरेका छन् । काठमाडौंको ८० प्रतिशत फोहर व्यवस्थापनको काम निजी कम्पनीहरुले नै गरिरहेको छन् ।

अब भने फोहर वर्गीकरण शुरु गर्दा यसको उपादयताबारे पनि स्पष्ट पारिदिए थप सजिलो हुने फोहर व्यवस्थापन गर्ने कम्पनीहरुको भनाइ छ ।

फोहर वर्गीकरणको विषय नौलो होइन, फोहर व्यवस्थापन ऐन २०६८ ले नै वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने कुरालाई जोड दिएको छ ।

विश्वका विभिन्न देशमा पनि कुहिने, नकुहिने र पुन प्रयोग गर्न मिल्ने फोहरको वर्गीकरण गरी फोहर व्यवस्थापन गर्ने गरिएको छ । फोहरलाई रोगको कारण बनाउने कि ? सही रुपमा व्यवस्थापन गरी सुन्दर शहर बनाउने ? यो जिम्मा तपाई हाम्रै हो ।