७ बैशाख २०८१, शुक्रबार

शान्ति सुरक्षाको नाममा गृहमन्त्री र गृहसचिवले एक वर्षमा गरे एक करोड ३८ लाखभन्दा बढी रकम खर्च

ministar home

गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । 

उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । 

मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रुपैयाँ र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था रहेको छ । 

सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०७७/७८ मा गृहमन्त्रीले ६२ लाख ५० हजार रुपैयाँ र गृहसचिवले ७५ लाख ५५ हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ । अर्थमन्त्रीले भन्दा गृहसचिवले उक्त वर्ष शान्ति सुरक्षाको नामममा १३ लाख ५ हजार रुपैयाँ बढी खर्च गरेको देखिएको छ । 

‘निर्णयमा एक पटकको खर्चको सीमा तोकिए तापनि साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान नगरेकोले स्पष्टतासहित अवधि किटान गरिनुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ । 

उक्त वर्ष गृहमन्त्रीमा रामबहादुर थापा ‘बादल’ र गृहसचिवमा महेश्वर न्यौपाने रहेका थिए ।