१५ चैत्र २०८०, बिहीबार

कारबाही गर्ने यादव पक्षको निर्णयको भट्टराईद्वारा भर्त्सनासहित खारेज

baburam bhattarai and upendra yadav

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै खारेज गर्नुभएको छ ।

एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल समेत गर्नुभएको छ ।

उहाँले पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वेच्छाचारी कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको प्रष्टीकरण दिनुभएको छ ।

भट्टराईले अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको आरोप लगाउनुभएको छ ।

वीरगञ्जमा बसेको यादव पक्षको केन्दीय समिति बैठकले काठमाडौंमा भट्टराई पक्षले गरेको केन्द्रीय समितिको विस्तारित बैठक अवैध भन्दै भट्टराईलाई पार्टीबाट निस्काशन गरेको थियो ।