१६ चैत्र २०८०, शुक्रबार

बेमौसमी भारत भ्रमण प्रचण्डको, चिनियाँ नेता फर्केलगत्तै मोदीसँग किन हिमचिम ?

prac

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको टोली चार दिने नेपाल भ्रमणबाट स्वदेश फर्किएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जानु भएको छ । प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा दिल्लीमै रहेका बेला प्रचण्ड भारत जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार दिल्ली जानु भएको छ । चीनका प्रभावशाली कम्युनिष्ट नेता लिउ जियान चाओ उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेर फर्किएलगत्तै प्रचण्ड नयाँ दिल्ली गएपछि ‘स्याल कराउनु र कुखुरा हराउनु’ एकैपटक भएको मात्रै हो कि नियोजित हो भन्ने प्रश्न उठिरहेको छ ।

कूटनीतिक मामिलाका जानकारहरू चिनियाँ टोलीको भ्रमणसँगै भारत सशंकित भएकाले प्रचण्डको भ्रमण दिल्लीलाई थमथम्याउनका लागि भएको आशंका गर्छन् ।

भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, सुरक्षा सल्लाहकार अजित डोभल र भाजपा अध्यक्ष जेपी नड्डालगायतसँग भेटघाट गर्नुहुनेछ ।

नेपालका शीर्ष कम्युनिष्ट नेताहरूसँगको भेटमा चिनियाँ उच्चस्तरीय टोलीले वाम गठबन्धनमा जोड दिएका थिए । त्यसो त स्थानीय तह निर्वाचन सकिएलगत्तै नेपालमा वाम गठबन्धनको चर्चा चलिरहेकै थियो ।

उता संघीय र प्रदेशसभा निर्वाचनको मिति घोषणाको तयारी भइरहेको र सत्ता गठबन्धनलाई निरन्तरता दिने वा अन्य सम्भावना खोज्ने विषयमा दलहरूबीच आन्तरिक छलफल भइरहेका बेला प्रचण्डको भारत भ्रमण भएपछि अनेकथरी टिकाटिप्पणी भइरहेको छ ।

त्यसमाथि प्रधानमन्त्री पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पनि भारतमै हुनुहुन्छ । तर माओवादी केन्द्रका नेता नारायण दाहाल प्रचण्डको भ्रमणलाई लिएर शंका गर्नु नपर्ने दाबी गर्नुहुन्छ ।

राजनीतिमा चलाख तर अस्थीर नेताको आरोप खेप्ने गरेका प्रचण्ड चुनावी गठबन्धनका लागि रणनीतिक मुभमा हुनुहुन्छ । कुनै खास राजनीतिक एजेण्डा नभए चिनियाँ नेता फर्कन नभ्याउँदै प्रचण्ड किन बेमौसमी भ्रमणमा निस्किनु भयो त ? भन्ने प्रश्न स्वाभाविक हो ।