१३ बैशाख २०८१, बिहीबार

नेपालमै उत्कृष्ट विन्ध्यवासिनी मावि

school

पोखराको बाटुलचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र परेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा पोखरा–१६ स्थित विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ विद्यालयभित्र परेको हो । साथै गण्डकीमै विन्ध्यवासिनी एकमात्र परेकोमा बाँकी ४ सामुदायिक मावि अन्य प्रदेशका हुन् ।

आर्थिक वर्ष २०७३/०७४ देखि चालु आव २०७८/०७९ सम्म ५ वर्षको सो सर्वेक्षणमा देशभरका ६२ जिल्लाका सामुदायिक मावि तहका ५ हजार १ सय ४३ विद्यालयहरुलाई आधार लिइएको थियो ।

६२ जिल्लामध्ये ६० जिल्लाको नतिजा सार्वजनिक भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका शाखा अधिकृत शशि पोख्रेलले जानकारी दिइन् ।

उनका अनुसार परीक्षणमा विद्यालयमा लगानी, प्रक्रिया र उपलब्धि लगायत ७९ सूचक थिए । उच्चस्तरको कार्यसम्पादन भन्नाले ९० प्रतिशतभन्दा बढी हो । विन्ध्यवासिनीसहित अन्य ४ विद्यालयले ९० भन्दा बढी प्रतिशत हासिल गरेका हुन् ।

सो परीक्षणमा गण्डकी प्रदेशका मात्रै ५ सय ७० विद्यालय थिए । सबैभन्दा बढी बागमतीका १ हजार २ सय १ र सबैभन्दा कम कर्णालीका ३ सय ७६ विद्यालय थिए । मूल्यांकनमा थोरैमात्र विद्यालयको कार्यसम्पादन स्तर कमजोर छ ।

परीक्षणमा विद्यालय कार्यसम्पादन स्तर राम्रो हुनु भनेको सिकाइ पद्दति पनि राम्रो छ भन्ने हो । केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले जुन विद्यालयमा विद्यार्थी संख्या धेरै छ, त्यस विद्यालयको समग्र कार्यसम्पादन स्तर राम्रो देखिएको बताउँछन् ।

२००४ सालमा स्थापित विन्ध्यवासिनी यस क्षेत्रमा शैक्षिक गुणस्तरमा राम्रो नतिजा हासिल गर्दैआएको विद्यालयमा पर्दछ । कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुने यहाँ ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय संचालित छ । यहाँ १२ सय ५० विद्यार्थी पढ्छन् भने शिक्षक र कर्मचारी गरी ७० जना छन् ।

१३ रोपनीमा फैलिएको विद्यालयमा हालैमात्र पुनःनिर्माण प्राधिकरणको सहयोगमा ३२ कोठे सुविधासम्पन्न भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य यदुनाथ बञ्जाराले जनाए ।

विद्यालय प्रध्यानाध्यापक कृष्णप्रसाद आचार्यले यो नतिजाले आफूहरुलाई खुसी लागेको बताउँछन् । विद्यालय व्यवस्थापन समितिको नेतृत्व चन्द्रा अधिकारी थापाले सम्हालेकी छन् । उनले विद्यालय शैक्षिक गुणस्तर कायम गर्दै भौतिक विकाससहित समग्र क्षेत्रको विकासमा सदा दत्तचित्त रहेको जनाइन् ।

यसैबीच, २०६६ सालमा स्थापित शैक्षिक गुणस्तर परीक्षण केन्द्र नेपाल सरकारको शिक्षा मन्त्रालयअन्तर्गत रहेको स्वतन्त्र विभागीय निकाय हो । यसले १३ वर्षदेखि विद्यालय शिक्षा प्रणालीभित्र कार्यसम्पादनको प्रभावकारिता परीक्षण वा मूल्यांकन गर्दै आएको महानिर्देशक सापकोटाले जनाए ।

पोखरामा आयोजित नतिजा प्रवोधिकरण तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै उनले केन्द्रले यस अवधिमा विद्यालयको कार्यसम्पादन परीक्षण र विद्यालयको सिकाइ उपलब्धि गरी २ क्षेत्रमा परीक्षण गर्दै आएको बताए । विद्यार्थी सिकाइ परीक्षणमा सामुदायिक माविका कक्षा ३, ५, ८ र १० का विद्यार्थीलाई आधार मानिने गरिन्छ ।