
थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् ।
रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।
पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु कपिलवस्तु र बाँकेका थिए ।
कपिलवस्तुका ८ कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी
कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी भएको पाइएको छ ।
उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् ।
उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेको स्रोतको भनाइ छ ।
स्रोतले भन्यो, ‘उहाँहरु कोरोना संक्रमितको स्वाब संकलन लगायतका प्रक्रियामा खटिनु भएको थियो ।’
मंगलबार कपिलवस्तुकी एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।
बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।