२३ बैशाख २०८१, आईतवार

पूर्वप्रधानमन्त्री आबेको निधन

Shinzo Abe

गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी ६७ वर्षका थिए।

सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ। उनी प्रहरी हिरासतमा छन्। ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ।

नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो। भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको गर्दनमा लागेको थियो।

गोली लागेपछि उनी भुइँमा ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो। यसअघि टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे “मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा” भएको बताएका थिए।

समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा एउटा सडकको बीचमा स्वास्थ्यकर्मीहरू आबे वरिपरि बसेको देखिएको थियो। आबेलाई अस्पताल लगिएको थियो।

नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको छ। अस्पतालमा उनलाई रगत दिइएको थियो।

कसरी भयो आक्रमण?

आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो।

बीबीसीका जापान संवाददाता रुपर्ट विङ्फील्ड-हेयसका अनुसार प्रत्यक्षदर्शीहरूले आफूले एउटा ठूलो बन्दुक बोकेको मान्छे देखेका बताएका छन्।

image l

पहिलो पटक प्रहार गरिएको गोली आबेलाई लागेको थिएन। तर दोस्रो गोली उनको गर्दनमा लाग्यो। गोली लागेपछि उनको शरीरबाट रगत बग्न थालेको थियो र उनी भुइँमा ढलेका थिए।

आक्रमणकारीले भाग्न प्रयास गरेनन्। सुरक्षाकर्मीले तत्काल समाते। स्थानीय समाचार प्रसारक एनएचकेका अनुसार प्रहरीले उक्त हतियार बरामद गरेको छ तथा आक्रमणकारीको पहिचान गरेको छ।

को हुन् आबे

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।

पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताए। योशिहिदे सुगा उनको उत्तराधिकारी बने। त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बने।

दुर्लभ घटना

जापानमा गोलीकाण्ड दुर्लभ मानिन्छ। जापानमा सन् २०१४ मा देशभरि केवल छवटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए। अमेरिकामा सो वर्ष ३३,५९९ जनाको गोलीकाण्डमा निधन भएको थियो।

जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ। उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ।

यी हुन् जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने व्यक्ति

आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको बताइएको छ। उनले आबेलाई पछाडिबाट दुई गोली हानेका थिए।

आक्रमणकारी पूर्वप्रधानमन्त्री आबेको धेरै नजिकै गएर गोली हानेका थिए। आबे सडकमा भाषण गरिरहेको बेलामा आक्रमणकारी उनको पछाडि नै उभिएका थिए।

sinjo abe 2 20220708121222

शिन्जो आबेले भाषण सुरु गरेलगत्तै आक्रमणकारीले उनीमाथि दुईवटा गोली हाने । दोस्रो गोली लागेपछि आबे भुइँमा ढले। त्यसपछि कार्यक्रममा उपस्थित मानिसहरूले उनलाई सीपीआर दिने प्रयास गरे। आबे हाल अस्पतालमा भर्ना छन्।

आक्रमणकारी गोली हानेपछि पनि भाग्ने प्रयास गरेनन्। गोली हानेपछि उनी त्यहीँ ठाउँमा उभिइरहे। त्यसपछि नजिकैका मानिसहरुले उनलाई प्रहरीसमक्ष बुझाए।

आक्रमणकारी करिब ४० वर्षका छन्। उनले किन यस्तो गरे भन्ने अहिलेसम्म खुलेको छैन। हाल प्रहरीले आक्रमणकारीलाई किन यस्तो गरेको हो भन्ने बारे सोधपुछ गरिरहेको छ।