४ जेष्ठ २०८१, शुक्रबार

विनाेद हत्या प्रकरण: मेयर चलाउनेसहित सात जना पक्राउ

ambika chalaune1

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का विनोद शाही हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

विनोद शाहीको हत्या आरोप पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित ७ जना प्रकाउ परेका हुन् ।

यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा गएराति चलाउने र नेत्र शाहीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय अछामले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा शाहीको शव फेला परेको थियो ।

मेयर चलाउनेको निर्देशनमै जेठ १७ गते राति गाउँमा प्रहरी पठाएर स्थानीयमाथि कुटपिट गरेको र सोही रातबाट १५ बर्षीय विनोद शाही बेपत्ता भएका थिए ।

जेठ २१ गते विनोदको शव भेटिएको थियो । परिवारले मेयर चलाउनेकै योजनामा हत्या भएको भन्दै किटानी जाहेरी गरेको थिए । तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि केही दिनदेखि विनायकमा तनावपूर्ण अवस्था बनेको थियो ।

स्थानीय बखत बहादुर शाहीले विनोदलाई जेठ १७ गते राति स्थानीय रामबहादुर शाहीको घरभित्र कुटेर हत्या गरिएको रहस्य खोलेका थिए । हत्यापछि तीन दिनसम्म उक्त घरमा ताला लगाएर शव राखिएको उनको भनाइ थियो । तेस्रो दिनको राति शव लगेर भिरमा खसालेको पीडित परिवारको आरोप छ ।

शाहीको हत्या गरिएको भन्दै मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । दर्ता गरिएको जाहेरीमा किटान गरिएकाहरू वडा नम्बर ४ कुच्चीकै रामबहादुर शाही, नेत्र शाही, द्रोपती शाही, शान्ति शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, कर्णबहादुर शाही, देवेन्द्र शाही, अक्कल शाही र पृथ्वी शाही रहेका छन् ।

बैशाख ३० गते मतदानको क्रममा भएको विवादलाई लिएर जेठ १६ गते कुच्चीगाउँमा नेपाली काँग्रेस र नेकपा एमालेका युवाहरुबीच झगडा भएको थियो। १७ गते मध्यरात प्रहरी गाउँमा पसेर लछारपछार गरेको थियो । त्यही रात विनोद बेपत्ता भएका थिए ।