२१ बैशाख २०८१, शुक्रबार

२६ दिनदेखिको मनिपाल आन्दोलन अन्त्य, कर्मचारीका माग सम्बोधन गर्न प्रशासन तयार

Manipal Hospital

ऐनले दिएको सुविधा नदिएको आरोपमा २६ दिनदेखि मनिपालमा कर्मचारीको आन्दोलन छ ।

सुत्केरी र किरिया बिदा सहित उपदानको माग गर्दै उनीहरू आन्दोलित भएका छन् । लामो समयको आन्दोलनपछि मनिपाल शिक्षण अस्पताल प्रशासनले कर्मचारीको माग सम्बोधन गर्न राजी भएको छ । 

ऐन अनुसार नै सुत्केरी र किरिया बिदा दिन अस्पताल तयार भएको हो । यस्तै, उपदान पनि साबिकका ऐन अनुसार उपलब्ध गराउने सहमति भएको छ ।

‘२०७४ अघिका कर्मचारीको हकमा पुरानै ऐनअनुसारको उपदान दिने सहमति भएको छ । नयाँ कर्मचारीलाई २०७४ को ऐनले तोकेको सुविधा दिइनेछ,’ कर्मचारी अमृत पौडेलले भने, ‘अस्पताल प्रशासनले माग पूरा गर्ने सहमति गर्‍यो । हाम्रो आन्दोलन अहिलेका लागि अन्त्य भएको छ ।’ 

तर अस्पतालले यसअघि पनि सम्झौता गर्ने र कार्यान्वयन नगर्ने समस्या छ । समस्या दोहोरिए पुनः संघर्ष गरिने पौडेलले बताए ।

कर्मचारीको आन्दोलनका कारण अस्पतालमा सेवा लिन आउने बिरामी समेत मर्कामा थिए । आजदेखि अस्पतालका ओपिडीसहित सबै सेवा सुचारु भएको अस्पताल प्रशासनले जनाएको छ ।

    सम्बन्धित समाचार...