
ललितपुर निवासी शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् ।
उनी ३० वैशाख १९७७ मा जन्मेका हुन्। तीनपटक मदन पुरस्कार पाउने एक मात्र साहित्यकार हुन्, उनी। २०१३, २०१७ र २०२८ मा गरी उनले तीनपटक मदन पुरस्कार पाएका छन्।
जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो ।
तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रोक्न लकडाउन गरिएकाले औपचारिक कार्यक्रमहरु छैनन् । उपमेयर गीता सत्यालले लकडाउनका कारण कुनै कार्यक्रम आयोजना नगरिएको बताइन् ।
गत वर्ष सत्यमोहनको सम्मानमा नगरपरिक्रमा, रक्तदान, नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।
अमेरिकी राजदूतले दिए शुभकामना
यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गरेका छन् ।
राजदूत बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिएका छन्
।