८ बैशाख २०८१, शनिबार

लकडाउन उल्लंघन गरेको भन्दै दुई होटल भत्काइयो

nigeria Y

नाइजेरियाको सरकारले कोरोनाभाइरस संक्रमण फैलनबाट रोक्न उद्देश्यसहित लागू गरेको लकडाउनको नियमलाई कथित रुपमा उल्लंघन गर्ने रिभर्स राज्यका दुई होटल भत्काएको छ ।

राज्यका गभर्नर न्येसोम वाइकीको रेखदेखमा इदिमेते होटल र प्रोडेस्ट नामका दुई होटल आइतबार भत्काइएका हुन् । गर्भनरले लकडाउन अवधिभरी होटल खोल्न नपाउने नियम तोडेकोले यी दुई होटल भत्काउनुपरेको जानकारी दिए ।

कोभिड–१९ द्वारा संक्रमित बिरामी राज्यका विभिन्न होटलमा बसिरहेको भेटिएको उनले बताए । यद्यपि, उनले भत्काइएका होटलमा पनि संक्रमित बसे नबसेको बारे भने जानकारी दिएनन् ।

nigeria

‘हामीले घुस दिन मानेनौं’

दुबै होटलका म्यानेजरलाई पक्राउ गरिएको छ । यद्यपि, प्राडेस्ट होमका मालिकले भने आफ्नो होटल खुल्ला नरहेको दाबी गरे ।

‘होटल सञ्चालन गरिएकै थिएन र ७० प्रतिशत कर्मचारीलाई घर पठाइएको थियो,’ गोगोरोबारी प्रोमिस निदामले बीबीसीलाई भने ।

‘होटलमा जम्माजम्मी तीनजना व्यक्ति मात्रै थिए ।’

‘अधिकारी आए र घुसको माग गरे । उनीहरुले घुस दिए लकडाउनमा पनि होटल सञ्चालन गर्न दिने बताइरहेका थिए । तर हामीले होटल सञ्चालनमा नआएकोले घुस दिन आफूसँग पैसा नभएको बतायौं,’ उनले भने ।

रिभर्स राज्यका अधिकारीले यस्तो आरोप खण्डन गरे ।

यो राज्यमा १५ जना संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।

राज्यको राजधानी पोर्ट हाकोर्टमा गत बिहिबारदेखि लकडाउन घोषणा गरिएको थियो ।

पूरा नाइजेरियामा ४ हजार बढी कोरोनाभाइरस संक्रमित छन् ।

स्रोतः बीबीसी