१४ बैशाख २०८१, शुक्रबार

साउथ कलाकारको लर्को नायिका नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’मा

Brahmandam Hraswa Dirgha

नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् ।

अभिनेत्री निता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन् । निता र ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहने फिल्ममा चन्द्र पन्तको निर्देशन रहनेछ । निर्देशक पन्तले ब्रह्मानन्दमसँग सम्झौता गरेका छन् ।

कमेडी भूमिकामा सर्वाधिक रुचाइएका ब्रह्मानन्दम संसारकै सर्वाधिक धेरै फिल्म खेल्ने जीवित कलाकारको गिनिज वल्ड रेकर्ड होल्डर हुन् । तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः फिल्ममा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन् ।

ब्रहमानन्दमले धेरै फिल्म अभिनयको गिनिज रेकर्ड समेत कायम गरिसक्दा सन् १९९९ मा अमिताभ बच्चनसँग ’सूर्यवंसम’ गरेयता बलिउडका समेत कुनै फिल्ममा खेल्न तयार भएका छैनन् ।

यसअघि यो फिल्ममा सुप्रसिद्ध भारतीय कलाकार (पुष्पाका ‘सिनुभाई’) सुनिल वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर ’अली’समेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई वलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ ।

नेपाल र भारतमा खिचिने ’ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन् । यो फिल्ममा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य कलाकार हुन् । फिल्मको हाल स्कृप्ट लक भएसँगै प्रि–प्रोडक्सन काम चलिरहेको निर्देशक पन्तले बताए ।

दशैंपछाडिबाट फिल्म फ्लोरमा जाने बताइएको छ । यो फिल्मलाई संसारकै ठुलो फिल्म सिटी ’रामोजी स्टुडियो’मा छायांकन गरिने समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।

    सम्बन्धित समाचार...