२६ श्रावण २०७९, बिहीबार

आठ वर्षीय बालकले चलाएको गोली लागेर एक जनाको निधन अमेरिकामा

gunfire

फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बच्चाको निधन भएको छ । गोली लागेर सानो बहिनी घाइते भएकी छिन् । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ । 

उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ । उनमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा   प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको एस्केम्बिया काउन्टी शेरिफ चिप सिमन्सले बताए । 

उक्त वियोगान्त घटना एउटा होटलमा भएको थियो । आपराधिक रेकर्ड भएका रोडिकले होटलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेकी थिइन् ।

घटनाबारे प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार रान्डल आफ्नो हतियार कोठामा छोडेर बाहिर गएका थिए । उनी बाहिर गए पछि छोराले  त्यसलाई बाहिर निकालेर आमा सुतिरहेको बेला खेल्न थालेका थिए ।

‘बालकले खोलबाट बन्दुक तानेर खेल्ने क्रममा एक वर्षको बच्चामा फायर गर्छ ।  अन्ततः एक वर्षको बच्चालाई मार्छ । त्यसपछि फेरि गोली चल्छ। उनको गोली लागेर दुई वर्षको बच्चा मध्ये एक घाइते भएका छन्’, पत्रकार सम्मेलनमा प्रहरीे भन्यो ।