२० बैशाख २०८१, बिहीबार

जार र बोतलको पानी जहाँको होस्, उमालेर मात्र प्रयोग गर्नुहोस्

jar miniral water

बजारमा पाइने जार र बोतलमा प्याकिङ् गरिएको पानीको शुद्धता के हो ? काठमाडौं महानगरपालिकाको हटलाइन ११८० मा नागरिकले प्रश्न सोध्नुभएको छ ।

शुद्धताका लागि मूल्य तिरेर किनेको पानी शुद्ध भएन भने किनेर पानी किन खानु ? शङ्खमूलबाट फोन गर्ने व्यक्तिले प्रश्न थियो । यो प्रश्नको उत्तरमा महानगरका स्वास्थ्यकर्मीको जवाफ थियो, ‘पानी जहाँको होस्, उमालेर मात्र प्रयोग गर्नुहोस् ।’

हटलाइनमा बेलुका ६ बजेदेखि फोन आउन थालेको हो । फोनमा जिज्ञासुहरुले काठमाडौंका कुन-कुन ठाउँमा हैजा फैलिएको छ ? ब्लिचिङ् पाउडर के हो ?

कसरी प्रयोग गर्ने, यो पाउडर वितरण भएको छ कि छैन ? पानी जाँच कहाँ गर्ने ? हैजाका लक्षण के हुन् ? प्राथमिक उपचार के गर्ने ?, घरमै केही औषधि छ कि जस्ता जस्ता प्रश्न गर्नुभएको थियो ।

त्यसैगरी पानी कसरी शुद्ध गर्ने ?, शुद्ध गर्ने औषधिले स्वास्थ्यमा नकारात्मक असर गर्छ कि गर्दैन ? जस्ता जानकारी माग्नुभएको थियो ।

महानगरले कल सेन्टरमा स्वास्थ्यसम्बन्धी सूचना दिन २४ घण्टा टोल फ्रि नम्बर ११८० सञ्चालन गरेको छ ।

महानगरमा हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सेचतनामूलक र उपचारका कार्यक्रम गरिरहेको छ ।

यसका लागि हैजाको प्रकोप भएको ठाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविका र वास स्वयंसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने निर्णय भएको छ ।

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ ।

यस्तै, पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार...