१४ बैशाख २०८१, शुक्रबार

लक्ष्य अनुरुपको खर्च गर्न सकेन कर्णाली प्रदेश सरकारले, विकास खर्च ३० प्रतिशतमै सीमित

karnali sarkar

चालु आर्थिक वर्षको ११ महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च ३० प्रतिशत मात्र भयो । मन्त्रालयगत खर्च गत आर्थिक वर्षको भन्दा ३ प्रतिशतले बढेपनि जति अपेक्षा गरिएको थियो सो बराबर खर्च हुन सकेन ।

कर्णाली प्रदेश सरकारले लक्ष्य अनुरुपको विकास खर्च गर्न सकेन । ३६ अर्ब ५७ करोड ९७ लाख रूपैयाँ बिनियोजन गरिकोमा बजेटको ११ अर्ब ५९ करोड ९६ लाख मात्र खर्च भएको छ । यो कुल बजेटको ३० प्रतिशत हो ।

खर्च भएको कुल रकम मध्ये ४० प्रतिशत रकम असार महिनामा मात्र खर्च भएको देखिन्छ । खरिद प्रकिया सम्झौता काम सम्पन्न गरी असारमा मात्र भुक्तानी लिने प्रवृत्तिले खर्च अन्तिम महिनामा बढी देखिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कानूनी बाधा तथा जनशक्ति अभावजस्ता कारणले खर्च हुन नसकेको मन्त्रालयको दाबी छ ।

कर्णाली प्रदेशमा मन्त्रालयगत खर्चको विवरण हेर्दा सबैभन्दा धेरै आर्थिक मामिला तथा योजना मन्त्रालयले ५४ प्रतिशत र सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १५ प्रतिशत खर्च गरेको देखिन्छ ।

कर्णालीका ७९ पालिकाले ४९ प्रतिशत विकास बजेट खर्च गरेका छन् । ३ अर्ब ८२ करोड पालिकाहरुका लागि विनियोजन गरिएको बजेटमध्ये १ अर्ब ६४ करोड मात्र खर्च भएको छ ।