१२ बैशाख २०८१, बुधबार

नेकपा विभाजन प्रचण्डका कारण भएको वामदेव गौतमको आरोप

bamdev gautam
फाइल फोटो

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नेकपा विभाजन भएको आरोप लगाउनुभएको छ ।

नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा संयोजक गौतमले अध्यक्ष प्रचण्डले नेकपाका तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले संसद नै विघटन गर्नु कुनै हिसावमा उचित नभएको बताउनुभयो । उहाँले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकाले आत्मलोचना गरेको बताउनुभयो ।

संयोजक गौतमले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताउनु भयो । उहाँले अन्तिम बैठकमा अध्यक्ष प्रचण्डले आफूलाई नै सबै दोष दिएपछि आफू मौन बसेको बताउनु भयो ।

गौतमले फेरी एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी एक हुनु पर्ने बताउनुभयो । राजनीतिक प्रतिवेदन पेश गर्दै गौतमले २०७५ जेठ ३ गते एकता भएर २०७८ भदौमा विभाजन भएको नेकपा फेरि एकता हुनसक्ने आधार प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले कांग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसीजस्ता सबैकुरा भित्रिने आरोप लगाउनु भयो । उहाँले एमसीसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताउनु भयो ।