१४ बैशाख २०८१, शुक्रबार

कर्मचारीको लापरबाही र त्रुटिबाट हरिजनको हत्या

hom.jpg final

गृहमन्त्री बालकृष्ण खाणले कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनका समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताउनु भएको छ ।

गृहमन्त्री खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन बुझ्दै घटनामा प्रतिवेदनले दोषी औँल्याएकालाई कानुन अनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने बताउनु भएको हो ।

घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा ५ सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य हुनुहुन्थ्यो ।

समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीहरूले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवम् दायित्व निर्वाहमा लापरबाही तथा त्रुटि गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न सिफारिस गर्दै लागू भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईले बताउनुभयो । समितिले २०७७ मंसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदीहरू हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटि तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ ।

समितिले अनुसन्धानका क्रममा नेपाल सरकारका सम्बद्ध पदाधिकारीहरूको स्वीकृति र सहयोगमा भारत सरकारसँग अनौपचारिक समन्वय गरी भारतको उत्तर प्रदेशको बारबंकी जिल्लामा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका हरिजनसँग सँगै बाँकेबाट रोल्पा कारागारमा स्थानान्तरण गरिएका शाहसँग पनि सोधपुज गरेको जनाएको छ ।

त्योसँगै समितिले घटनाको स्थलगत अध्ययन,अवलोकन, सूचना संकलन तथा विश्लेषण, सोधपुछ तथा फोन कल विवरण अध्ययन र घटना विवरण विश्लेषण गरेर प्रतिवेदन तयार पारेको जनाएको छ ।